काठमाडौं । अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ। हाल उनी माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत रहेकी छन्।
उनको शल्यक्रिया वरिष्ठ न्युरोसर्जन डा. वसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक सम्पन्न गरेको हो। कलाकार तथा उनका सहकर्मी दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत निरौलाको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन्।
गिरीका अनुसार शल्यक्रियापछि निरौलालाई सघन उपचार कक्ष (आईसीयू) बाट जनरल वार्डमा सारिएको छ। अस्पतालले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको छ।
चिकित्सकका अनुसार उपचारको प्रगति सन्तोषजनक रहेकाले उनलाई करिब एक सातापछि अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको छ।
दीपाश्री नेपाली चलचित्र क्षेत्रमा अभिनेत्री, निर्देशक तथा निर्माताका रूपमा परिचित छन्। उनका स्वास्थ्य लाभको कामना गर्दै शुभेच्छुक, कलाकार तथा प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरिरहेका छन्।
प्रकाशित मिति: २८ असार २०८३, आइतबार













प्रतिक्रिया