काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज पुगेर उपचाररत जेनजी अभियन्ता माजिद अन्सारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

कीर्तिपुरस्थित सुकुमवासीका लागि बनाइएको होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँको अवस्था बुझ्न पुगेका जेनजी अभियन्ता र प्रहरीबीच भएको धक्कामुक्कीका क्रममा प्रहरीको लाठी प्रहारबाट अन्सारी घाइते भएका थिए। हाल उनी शिक्षण अस्पतालमा उपचाररत छन्।

अस्पताल भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पौडेलले आफूले अन्सारीसँग भेटवार्ता गरेको जानकारी दिएका छन्। उनका अनुसार अन्सारीले भेटका क्रममा, ‘मैले के अपराध गरेँ र ममाथि यस्तो व्यवहार गरियो ?’ भन्ने प्रश्न गरेका थिए।

पौडेलले अन्सारीलाई आम नागरिकका जायज प्रश्न उठाउँदा दमनको सामना गर्नुपरेको उदाहरणका रूपमा चित्रण गरेका छन्। उनले लोकतान्त्रिक व्यवस्थामा असहमति, आलोचना र प्रश्नलाई दमन गर्नु उचित नहुने उल्लेख गर्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए।

‘लोकतन्त्रमा नागरिकका प्रश्न, आलोचना र असहमतिलाई सम्मान गरिनुपर्छ। यही उत्तरदायित्व र सुशासनको आधार हो,’ पौडेलले भने, ‘के सरकारले आफूले गरेका काममाथि कसैले प्रश्न नै नगरोस् भन्ने चाहेको हो ?’

प्रकाशित मिति: २८ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com