काठमाडौं । आत्मदाहपछि उपचारका क्रममा ज्यान गुमाएका गणेश नेपालीकी श्रीमतीलाई गृहमन्त्री सुधन गुरुङले नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका छन्।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर गृहमन्त्री गुरुङले मुगुको सोरु गाउँपालिका–१ निवासी दिवंगत गणेश नेपालीकी श्रीमतीलाई नागरिकता प्रदान गरेका हुन्।
यसअघि सरकारले गणेश नेपालीका परिवारसँग ९ बुँदे सहमति गरेको थियो। सोही सहमतिअनुसार परिवारका विभिन्न माग सम्बोधन गर्ने प्रक्रिया अघि बढाइएको सरकारी स्रोतले जनाएको छ।
गणेश नेपालीले गत बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि महानगर प्रहरीले आफ्नो मोटरसाइकलमा ‘ह्वील लक’ लगाएपछि भएको विवादका क्रममा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा निधन भएको थियो।
प्रकाशित मिति: २८ असार २०८३, आइतबार












प्रतिक्रिया