काठमाडौं । विपक्षी दलका सांसदहरूले सञ्चारमाध्यमलगायत विभिन्न स्थानमा सवारीसाधन तेर्स्याएर त्रास सिर्जना गरिएको घटनामा राज्यकै संरक्षण रहेको आरोप लगाउँदै निष्पक्ष छानबिन र कडा कारबाहीको माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरूले घटनामा संलग्नलाई सामान्य ट्राफिक जरिवानामात्र गरेर उन्मुक्ति दिइएको भन्दै आपत्ति जनाए।

नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सरकारमाथि प्रश्न उठाउनेहरूमाथि राज्य संयन्त्र प्रयोग गरेर दबाब सिर्जना गर्न खोजिएको आरोप लगाए। होल्डिङ सेन्टर, गणेश नेपालीको मृत्यु र सञ्चारगृहअगाडि सवारीसाधन तेर्स्याउने घटनालाई जोड्दै उनले सरकारले प्रत्येक घटनालाई राजनीतिक रंग दिन खोजेको टिप्पणी गरे।

यस्तै, नेपाल कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले सञ्चारमाध्यमअगाडि सवारीसाधन राखेर आतंक सिर्जना गर्ने कार्यमा संलग्न व्यक्ति र योजनाकारमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरे। राज्य संरक्षित व्यक्तिहरूको संलग्नता रहेको आरोप लगाउँदै उनले सामान्य जरिवाना तिराएर घटनालाई सामसुम पार्ने प्रयास स्वीकार्य नहुने बताए।

विपक्षी सांसदहरूले पार्किङ प्रकरणमा राज्यको संलग्नताको आरोप लगाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही सांसदहरूले बैठकमा नियमापत्ति जनाएका थिए।

प्रकाशित मिति: ३० असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com