दोहा । कतारस्थित अमेरिकी सैन्य अड्डा अल उदैद एयर बेसलाई लक्षित गरी इरानले बिहीबार बिहान दुई चरणमा मिसाइल आक्रमण गरेको छ। कतारको रक्षा मन्त्रालयका अनुसार स्थानीय समयअनुसार बिहान करिब ३:३० बजे भएको आक्रमणमा अधिकांश क्षेप्यास्त्रलाई वायु प्रतिरक्षा प्रणालीले बीचमै अवरोध गरी निष्क्रिय पारेको हो।
आक्रमणपछि कतारी गृह मन्त्रालयले देशभर सुरक्षा सतर्कता उच्च बनाउँदै केही समयका लागि नागरिक तथा विदेशी बासिन्दालाई घरभित्रै सुरक्षित रहन आग्रह गरेको थियो।
प्रारम्भिक विवरणअनुसार क्षेप्यास्त्र अवरोध गर्ने क्रममा आकाशबाट खसेका भग्नावशेष लागेर एक बालबालिका घाइते भएका छन्। घाइतेको उपचार भइरहेको जनाउँदै मन्त्रालयले अन्य मानवीय क्षतिको विवरण सार्वजनिक गरेको छैन।
गृह मन्त्रालयले नागरिकलाई आधिकारिक स्रोतबाट आउने सूचनामात्र विश्वास गर्न आग्रह गर्दै सामाजिक सञ्जालमा अपुष्ट समाचार, तस्बिर वा भिडियो सामग्री साझा नगर्न चेतावनी दिएको छ। यस्ता भ्रामक सामग्री फैलाउनेविरुद्ध कानुनी कारबाही गरिने पनि मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सुरक्षा निकायहरू पूर्ण तयारीका साथ परिचालित छन्। सार्वजनिक सुरक्षा कायम राख्न, आकस्मिक अवस्थाको तत्काल सामना गर्न तथा अत्यावश्यक सेवाहरू अवरोधरहित रूपमा सञ्चालन गर्न सबै सरकारी संयन्त्र सक्रिय बनाइएको बताइएको छ।
प्रकाशित मिति: १ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया