एजेन्सी । गत महिना भेनेजुएलामा आएको शक्तिशाली दोहोरो भूकम्पपछि ज्यान गुमाउनेको संख्या पाँच हजारभन्दा बढी पुगेको छ। विपत्तिपछिको पुनर्निर्माण तथा राहत कार्यलाई गति दिन अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले ३४ करोड ६० लाख अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराएको छ।
जुन २४ मा करिब एक मिनेटको अन्तरालमा सात दशमलव दुई र सात दशमलव पाँच म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएको थियो। राजधानी काराकासको उत्तरमा पर्ने तटीय राज्य ला गुआइरा सबैभन्दा बढी प्रभावित भएको अधिकारीहरूले जनाएका छन्।
नेसनल एसेम्बलीका प्रमुख जर्ज रोड्रिगेजका अनुसार हालसम्म भूकम्पका कारण पाँच हजार ६९ जनाको मृत्यु पुष्टि भएको छ। मृतकमध्ये अधिकांश प्रभावित तटीय क्षेत्रका बासिन्दा रहेका छन्।
भूकम्पबाट १६ हजार ७४० जना घाइते भएका छन्। घाइतेमध्ये धेरैजसोको उपचार सम्पन्न भइसकेको र उनीहरू घर फर्किसकेको सरकारी अधिकारीहरूले बताएका छन्।
अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले पुनर्निर्माणका लागि आइएमएफले ३४ करोड ६० लाख अमेरिकी डलर उपलब्ध गराएको जानकारी दिइन्। आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले पनि उक्त सहयोगको पुष्टि गर्दै तत्काल मानवीय आवश्यकता पूरा गर्न भेनेजुएलाले आफ्नो विशेष सञ्चित स्रोत (रिजर्भ ट्राञ्च) उपयोग गर्न सक्ने व्यवस्था गरिएको बताइन्।
भूकम्पका कारण करिब २० हजार मानिस घरबारविहीन बनेका छन्। उनीहरू अस्थायी शिविरमा आश्रय लिएर बसिरहेका छन्। प्रभावित क्षेत्रमा खानेपानी, सरसफाइ तथा आधारभूत सेवाको अभावले मानवीय संकट अझ गम्भीर बन्दै गएको छ।
भेनेजुएलासँग आइएमएफमा करिब पाँच अर्ब १० करोड अमेरिकी डलर बराबरको विशेष आहरण अधिकार (एसडीआर) मौज्दात छ। तर निकोलस मादुरोको वैधानिकतामाथि उठेको विवादका कारण यसअघि उक्त स्रोतको उपयोग रोकिएको थियो।
यसै वर्ष जनवरीमा मादुरो सत्ताच्युत भएपछि आइएमएफ र विश्व बैंकले अप्रिलदेखि भेनेजुएलासँगको सहकार्य पुनः सुरु गरेका हुन्। सन् २०१९ यता यी अन्तर्राष्ट्रिय वित्तीय संस्थासँगको सम्बन्ध स्थगित रहेको थियो।
प्रकाशित मिति: २ श्रावण २०८३, शनिबार













प्रतिक्रिया