एजेन्सी । इरानका विभिन्न प्रान्तमा अमेरिकी सेनाले गरेको आक्रमणपछि कम्तीमा ३८ जनाको मृत्यु भएको छ भने ४०० भन्दा बढी घाइते भएका छन्। इरानी स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणका क्रममा नागरिक पूर्वाधार, ऊर्जा संरचना, पुल तथा समुद्री निगरानी पूर्वाधारमा व्यापक क्षति पुगेको छ।
इरानी सरकारी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार होर्मोजगन, बुसेहर, सिस्तान–बलुचिस्तान, खुजेस्तान र लोरेस्तान प्रान्तमा अमेरिकी आक्रमण भएको हो। आक्रमणका क्रममा चाबहारस्थित शाहिद कलान्तरी बन्दरगाहको समुद्री नियन्त्रण टावर पूर्ण रूपमा ध्वस्त भएको जनाइएको छ। यद्यपि, बन्दरगाहका कार्गो टर्मिनल र अन्य मुख्य पूर्वाधार भने सुरक्षित रहेको बताइएको छ।
यता, अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले चाबहार बन्दरगाहको निगरानी टावर सफलतापूर्वक ध्वस्त पारिएको पुष्टि गरेको छ। सेन्टकमका अनुसार उक्त संरचना इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले ओमानको खाडी र होर्मुज जलडमरूमध्य हुँदै हुने समुद्री गतिविधिको निगरानीका लागि प्रयोग गर्दै आएको थियो।
इरानी समाचार एजेन्सी इरनाका अनुसार प्राविधिक टोलीले प्रभावित क्षेत्रको क्षतिको मूल्याङ्कन, सुरक्षा व्यवस्थापन तथा बन्दरगाह सञ्चालन पुनः सुरु गर्ने तयारी थालेका छन्। सुरक्षा परीक्षण पूरा भएपछि कार्गो सेवा पुनः सञ्चालन गरिने जनाइएको छ।
होर्मोजगन प्रान्तमा मात्र छ वटा पुलमा क्षति पुगेको छ। प्रान्तीय प्रशासनका अनुसार खमीर काउन्टीमा सात जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। आक्रमणका कारण बन्दर अब्बास, बन्दर खमीर र लार जोड्ने मुख्य सडक सञ्जाल प्रभावित भएको छ। वैकल्पिक मार्ग सञ्चालनमा ल्याउन उद्धार तथा प्राविधिक टोली परिचालन गरिएको छ।
बन्दर अब्बासको आवासीय क्षेत्रमा भएको अर्को आक्रमणमा एक जनाको मृत्यु भएको र आठ जना घाइते भएको इरानी अधिकारीहरूले बताएका छन्। त्यहाँको रेलवे शाखा स्टेसनमा पनि क्षति पुगेको छ, जहाँ दुई जना घाइते भएका छन्।
बुसेहर प्रान्तका गभर्नर मोहम्मद मोजाफारीले केही घण्टाको अन्तरालमा दुई पटक आक्रमण भएको र एक जना घाइते भएको जानकारी दिएका छन्। खुजेस्तानका उप–गभर्नर वालियोल्लाह हयातीका अनुसार अमेरिकी सेनाले अहवाज आसपासका क्षेत्रलाई पनि लक्षित गरेको छ। त्यस क्षेत्रमा भएको क्षतिको विवरण संकलन भइरहेको छ।
यसअघि इरानी अधिकारीहरूले अहवाज नजिकैको आक्रमणका कारण क्यान्सर उपचारमा विशेषज्ञता प्राप्त शाहिद बाघाई अस्पताल अस्थायी रूपमा खाली गर्नुपरेको आरोप लगाएका थिए।
लोरेस्तान प्रान्तको चेगेनी काउन्टीस्थित वेसियान क्षेत्रमा पनि आक्रमण भएको स्थानीय प्रशासनले पुष्टि गरेको छ।
सेन्टकमले भने तटीय निगरानी प्रणाली, हवाई प्रतिरक्षा संरचना तथा अन्य सैन्य पूर्वाधारलाई लक्षित गरी कारबाही गरिएको जनाएको छ। तर इरानले अमेरिकाले नागरिक पूर्वाधारलाई समेत निशाना बनाएको आरोप लगाएको छ।
यसैबीच, इरानले बहराइन, कुवेत, सिरिया र ओमानस्थित अमेरिकी सैन्य ठेगानामाथि जवाफी आक्रमण सुरु गरेको दाबी गर्दै क्षेत्रीय तनाव थप चर्किएको संकेत दिएको छ।
प्रकाशित मिति: २ श्रावण २०८३, शनिबार













प्रतिक्रिया