नयाँ दिल्ली । संसदतर्फ गरिएको विरोध मार्चका क्रममा भारतको राजधानी दिल्ली तनावग्रस्त बनेको छ। प्रदर्शन चर्किंदै जाँदा कक्रोच जनता पार्टी (सीजेपी) का प्रतिनिधिहरूले सोमबार केन्द्रीय मन्त्री जेपी नड्डासँग भेट गरी तीन बुँदे माग सरकारसमक्ष प्रस्तुत गरेका छन्।

सीजेपीका प्रवक्ता आशुतोष रांकाका अनुसार सरकारको पहलमा नड्डाको निवासमा भएको करिब १० मिनेटको भेटवार्तामा आन्दोलनकारी पक्षले तीन प्रमुख माग अघि सारेको हो। उनीहरूले आन्दोलनका अगुवा सोनम वाङचुकको तत्काल रिहाइ, केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा तथा आत्महत्या गरेका सबै नीट परीक्षार्थीका परिवारलाई एक करोड भारतीय रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।

भेटपछि नड्डाले ती मागबारे पार्टी नेतृत्वसँग छलफल गर्ने आश्वासन दिएको बताइएको छ।

यसैबीच संसदको मनसुन अधिवेशन जारी रहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदी कडा सुरक्षा व्यवस्थाबीच संसद भवनबाट बाहिरिएका छन्। संसद परिसर वरपर प्रदर्शन चर्किएसँगै सुरक्षा व्यवस्था थप कडा पारिएको थियो।

प्रदर्शन नियन्त्रणका लागि संसद क्षेत्र, जन्तर–मन्तर, रायसिना रोड, रफी मार्ग र कर्तव्य पथलगायतका स्थानमा ठूलो संख्यामा प्रहरी तथा अर्धसैनिक बल परिचालन गरिएको छ। प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएपछि केही स्थानमा अश्रुग्यास प्रहार र लाठीचार्जसमेत गरिएको बताइएको छ।

प्रहरीका अनुसार संसद मार्चमा करिब आठ हजार प्रदर्शनकारी सहभागी भएका थिए। आन्दोलनमा तृणमूल कांग्रेसकी सांसद महुआ मोइत्रा, अभिनेता प्रकाश राज, शबाना आजमी तथा आम आदमी पार्टीका केही नेताले पनि ऐक्यबद्धता जनाएका छन्।

आन्दोलनकारीहरूले प्रहरीले शान्तिपूर्ण प्रदर्शनमाथि बल प्रयोग गरेको आरोप लगाएका छन्। दिल्ली विश्वविद्यालयकी एक विद्यार्थीले लाठीचार्ज र अश्रुग्यासको सामना गरे पनि आन्दोलन जारी रहने बताएकी छन्।

अखिल भारतीय विद्यार्थी संघ (एआईएसए) की कार्यकर्ता नेहाले पनि सामाजिक सञ्जालमार्फत दिल्ली प्रहरीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि अनावश्यक बल प्रयोग गरेको आरोप लगाएकी छन्।

यसैबीच, कांग्रेस सांसद रेणुका चौधरीले विद्यार्थीका आवाज दबाउन अश्रुग्यास प्रहार गर्नु अनुचित भएको टिप्पणी गर्दै संसद विद्यार्थीहरूको पनि भएकाले उनीहरूलाई आफ्नो धारणा राख्न दिनुपर्ने बताएकी छन्।

प्रदर्शनका क्रममा जनपथ मेट्रो स्टेशन र प्रेस क्लब आसपास सयौँ प्रदर्शनकारी भेला भएका थिए। केही समयका लागि संसदअगाडि पुगेर विरोध प्रदर्शन गर्न अनुमति दिन उनीहरूले प्रहरीसँग आग्रह गरेका थिए।

यसैक्रममा एक प्रदर्शनकारीले प्रहरीलाई चुनौती दिएको र त्यसपछि सुरक्षाकर्मीले लाठी प्रहार गरी नियन्त्रणमा लिएको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com