काठमाडौं । कारागारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीले अब बच्चा जन्माउन पाउने भएका छन् । मन्त्रिपरिषदले कारागार नियमावली संशोधन गर्दै कैदीबन्दीको सुविधा विस्तार गर्ने व्यवस्था गरेको हो ।

कारागार नियमावली २०८३ अनुसार कैदीबन्दीले कारागारमा नैसर्गिक मानवीय अधिकार तथा सन्तान उत्पादन गर्ने (प्रजनन) अधिकार पनि पाउने उल्लेख गरिएको छ । मन्त्रिपरिषद्ले असार ३२ मा स्वीकृत गरेको नियमावली अनुसार कारागारमा पति र पत्नी भेटघाट सुविधा उपलब्ध गराइने छ । कारागार ऐन २०७९ को दफा २३ मा भएको प्रजनन अधिकार उपलब्ध गराउनुपर्ने सुविधा कार्यान्वयन गर्न निमायवलीले व्यवस्था गरेको हो ।

प्रजनन अधिकार उपलब्ध गराउन पति–पत्नी निश्चित समय कारागारमा सँगै बस्न पाउने छन् । जेलरले छुट्टै कक्ष स्थापना गरेर त्यस्तो सुविधा दिनुपर्ने कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताए । ‘पती–पत्नीसँगै बस्ने व्यवस्था मिलाउने कुरा नियमावलीले गरेको छ, सन्तान प्राप्तिका लागि छुट्टै कक्ष स्थापना गरेर निश्चित समय बस्न दिनुपर्ने छ,’ उनले भने ।

त्यस्तै, कैदीबन्दीलाई मनोसामाजिक परामर्श उपलब्ध गराउन पनि नाइके राख्ने प्रावधान लागु गरिएको छ । कैदीहरूलाई तनावको अवस्थाबाट मुक्त गराउन र विचलित हुन नदिन नाइकेले सम्झाई बुझाई गर्नेछन् । तनाव व्यवस्थापन गर्ने जिम्मेवारी पाउने ‘मनोसामाजिक परामर्श नाइके’ले पनि कैद छुट सुविधा पाउनेछन् ।

प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com