काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज साम्पाङ राईले धान रोपाइँका लागि खेताला अभाव भएका किसानलाई निःशुल्क श्रम सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत किसानलाई सम्बोधन गर्दै साम्पाङले खेताला नपाएका किसानलाई आफूलाई जानकारी गराउन आग्रह गरेका हुन्। उनले आफ्नो श्रम अभियानमा सहभागी स्वयंसेवकहरूलाई निःशुल्क रूपमा खेतमा पठाइदिने बताएका छन्।

साम्पाङले फेसबुकमा लेखेका छन्, ‘कोही किसानको धान रोप्नुपर्ने छ र खेताला पाउनु भएको छैन भने जानकारी दिनु होला। श्रमदाताहरू आएर गुटुङ्टुङ रोपिदिनेछन्। पैसा दिनु पर्दैन।’

धरान उपमहानगरपालिकाको प्रमुख रहँदा श्रमदान अभियान सञ्चालन गर्दै आफैं ढुंगा बोक्ने शैलीका कारण चर्चामा आएका साम्पाङले पछिल्लो समय पनि देशव्यापी रूपमा श्रम अभियानलाई निरन्तरता दिँदै आएका छन्।

उनले नेतृत्व गरेको श्रम संस्कृति पार्टीले विभिन्न स्थानमा श्रमदानमार्फत सार्वजनिक पूर्वाधार निर्माण, सरसफाइ, वृक्षरोपण तथा कृषि कार्यमा सहयोग गर्ने अभियान सञ्चालन गरिरहेको छ। यसैक्रममा धान रोपाइँका बेला खेताला अभाव झेलिरहेका किसानलाई निःशुल्क श्रम सहयोग गर्ने घोषणा गरिएको हो।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com