काठमाडौं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नीट-यूजी (NEET-UG) परीक्षाको प्रश्नपत्र लीक प्रकरणमा संलग्न दोषीहरूमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाउँदै नयाँ विधेयक ल्याउने घोषणा गरेका छन्।
बिहीबार मध्यराति देशका विद्यार्थीहरूका नाममा एक भिडियो सन्देश जारी गर्दै उनले प्रश्नपत्र चुहावट रोक्न कडा सजाय र ‘फास्ट ट्र्याक’ अदालतको व्यवस्था समेटिएको नयाँ विधेयक आगामी साता संसद्मा प्रस्तुत गरिने बताएका हुन्।
शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल हुने र आगामी सोमबारदेखि सुरु हुने संसद्को बर्खे अधिवेशनको दोस्रो साता विधेयक पेस गरी सकेसम्म छिटो पारित गराइने प्रधानमन्त्री मोदीले स्पष्ट पारेका छन्।
परीक्षाको निष्पक्षता र पारदर्शिता कायम राख्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले देशका युवाहरूको भविष्यसँग खेलबाड गर्ने जोकोहीलाई पनि नछाडिने चेतावनी दिएका छन्। परीक्षा प्रणालीलाई पूर्ण रूपमा सुरक्षित र भरपर्दो बनाउन तथा विद्यार्थीको हित रक्षाका लागि यो नयाँ कानुन कोसेढुङ्गा साबित हुने प्रधानमन्त्री मोदीले दाबी गरेका छन्।
साथै विद्यार्थी तथा अभिभावकहरूलाई धैर्य धारण गर्न र कुनै पनि भ्रममा नपर्न आग्रह गर्दै प्रधानमन्त्री मोदीले भने, ‘पेपर लिक लाखौँ विद्यार्थी र उनीहरूका अभिभावकका लागि अत्यन्तै पीडादायी विषय हो। सरकारले दोषीहरूलाई पक्राउ गरी जेल पठाइसकेको छ। विद्यार्थीहरूको एक वर्ष खेर जान नदिन २२ लाख विद्यार्थीको पुनः परीक्षा समेत सञ्चालन गरिएको छ।’
यसैबीच विद्यार्थीहरूले गरिरहेको आन्दोलनको समर्थनमा विगत २६ दिनदेखि अनशनमा बसेका सामाजिक अभियन्ता सोनम वाङचुकले शुक्रबार मध्यराति आफ्नो अनशन तोडेका छन्। वाङ्चुकले अनशन तोडेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। ‘म सोनमजीलाई डाक्टरको सल्लाहअनुसार आफ्नो दिनचर्या पालना गर्न र छिट्टै स्वास्थ्य लाभ गर्न आग्रह गर्दछु,’ मोदीले भनेका छन्।
प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया