काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा भारत भ्रमणमा गएसँगै सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले पुनः कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन्।
प्रधानन्यायाधीश शर्मा भारत प्रस्थान गरेपछि प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा फर्किएकी हुन्। उनको र न्यायाधीश टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा शुक्रबार ३६ वटा पेसी तोकिएको छ।
यसअघि तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी थिइन्।
गत वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले चौथो वरीयतामा रहेका मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि प्रधान मल्ल २० दिनको बिदामा बसेकी थिइन्।
शर्मा प्रधानन्यायाधीश नियुक्त भएपछि उनी नियमित न्यायाधीशकै जिम्मेवारीमा फर्किएकी थिइन्। अहिले प्रधानन्यायाधीश शर्मा भारत भ्रमणमा रहेकाले उनले पुनः कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी हुन्।
प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया