विराटनगर । विराटनगर विमानस्थलबाट स्रोत नखुलेको ६ लाख ६५ हजार रुपैयाँ नगदसहित नेपाल सरकारका एक उपसचिव पक्राउ परेका छन्। पक्राउ पर्नेमा राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, मोरङका कार्यालय प्रमुख तथा उपसचिव मिक्मार तामाङ रहेका छन्।

प्रहरीका अनुसार दोलखाको भीमेश्वर नगरपालिका–९ निवासी तामाङलाई साउन ३ गते विराटनगरबाट काठमाडौं जाने क्रममा विमानस्थलको नियमित सुरक्षा जाँचका बेला नियन्त्रणमा लिइएको थियो। उनले बोकेको कालो झोलाभित्र लुकाइराखिएको अवस्थामा एक हजार दरका ५१५ थान र पाँच सय दरका ३०० थान नोट गरी कुल ६ लाख ६५ हजार रुपैयाँ बरामद भएको थियो।

बरामद नगदको स्रोतबारे सोधपुछ गर्दा तामाङले सन्तोषजनक जवाफ दिन नसकेपछि विमानस्थल सुरक्षा टोलीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङको आर्थिक अपराध शाखामा बुझाएको हो।

प्रारम्भिक बयानमा तामाङले उक्त रकम आफन्तको भएको दाबी गरेका छन्। तर, त्यसको पुष्टि हुन नसकेपछि प्रहरीले स्रोत खुलाउने सम्बन्धमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

घटना साउन ३ गतेकै भए पनि प्रहरीले पाँच दिनसम्म सार्वजनिक नगरेर शुक्रबार मात्र जानकारी दिएको हो। सामान्यतया स्रोत नखुलेको ठूलो रकमसहित पक्राउ परेका घटनाहरू तत्काल सार्वजनिक गर्ने अभ्यास रहे पनि उपसचिव तहका कर्मचारी संलग्न घटनालाई लामो समयसम्म गोप्य राखिएको भन्दै मोरङ प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ।

प्रहरीका अनुसार बरामद रकमको वास्तविक स्रोत, प्रयोगको उद्देश्य तथा सम्भावित आर्थिक अपराधसँग सम्बन्धबारे अनुसन्धान जारी रहेको छ।

 

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com