एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुस इरानसँगको युद्धमा प्रत्यक्ष रूपमा संलग्न नभएको बताएका छन्। तर, दुवै मुलुक युद्धमा हस्तक्षेप गरे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी उनले दिएका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत ट्रम्पले हालै बेइजिङमा भएको भेटका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले कुनै पनि परिस्थितिमा इरानलाई हतियार उपलब्ध नगराउने आश्वासन दिएको दाबी गरे। यो प्रतिबद्धता चिनियाँ कम्पनीहरूमा समेत लागू हुने उनको भनाइ छ।

‘मलाई सी जिनपिङमाथि विश्वास छ,’ ट्रम्पले भनेका छन्। उनका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि इरानलाई हतियार बिक्री नगर्ने बताएका छन्।

यसैबीच, चिनियाँ विदेशमन्त्री वाङ यीले इरानी समकक्ष अब्बास अराघचीसँगको भेटमा इरानको सार्वभौमसत्ता, सुरक्षा र राष्ट्रिय सम्मानको रक्षाका लागि बेइजिङले समर्थन गर्ने बताएका छन्। पश्चिम एसियामा बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै वाङले संवाद र वार्तामार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन्। जवाफमा अराघचीले इरान वार्ताका लागि तयार रहेको तर द्वन्द्व थप चर्काउने पक्षमा नरहेको बताएका छन्।

ट्रम्पले अमेरिका र इरानबीच संवादको सम्भावना अझै कायम रहेको बताएका छन्। इरान वार्ताका लागि तयार भए आफू छलफल सुन्न इच्छुक रहेको उनको भनाइ छ। यद्यपि, इरानलाई परमाणु हतियार विकास गर्न भने कुनै हालतमा अनुमति नदिने उनले स्पष्ट पारेका छन्। अमेरिकी कारबाहीबाट इरानको सैन्य क्षमतामा ठूलो क्षति पुगेको दाबी पनि ट्रम्पले गरेका छन्।

युक्रेन युद्धका बीच रुसी राष्ट्रपति पुटिनसँग आफ्नो संवाद जारी रहेको पनि ट्रम्पले बताएका छन्। अमेरिकाले युक्रेनलाई प्रत्यक्ष रूपमा हतियार बिक्री नगरे पनि नेटो सदस्य राष्ट्रहरूलाई हतियार बिक्री गरिरहेको उनले स्पष्ट पारे। ती देशहरूले हतियारको पूर्ण मूल्य तिर्ने र त्यसपछि ती हतियार कहाँ र कसरी पठाउँछन् भन्ने विषयमा आफूलाई जानकारी नहुने ट्रम्पको भनाइ छ।

यसैबीच, द न्युयोर्क टाइम्स को रिपोर्टअनुसार टर्कीमा भएको नेटो सम्मेलनका क्रममा ट्रम्पलाई इरान समर्थित समूहबाट सम्भावित आक्रमणको सूचना प्राप्त भएको थियो। सुरक्षा जोखिमलाई ध्यानमा राख्दै अमेरिकी सिक्रेट सर्भिसले उनलाई फर्कने क्रममा विमान परिवर्तन गर्न सुझाव दिएको जनाइएको छ।

युद्धपछि पहिलोपटक ट्रम्प र नेतन्याहुको भेट हुँदै

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु सोमबार अमेरिका जाने भएका छन्। भ्रमणका क्रममा उनले राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्नेछन्। इरानसँग युद्ध सुरु भएपछि दुई नेताबीच हुन लागेको यो पहिलो प्रत्यक्ष भेट हुनेछ।

यसैबीच, अमेरिका–इरान तनाव चुलिँदै जाँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा पनि तीव्र वृद्धि भएको छ। मे महिनापछि पहिलोपटक ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ।

इरानले शुक्रबार कुवेतस्थित अमेरिकी सैन्य अखडालाई लक्षित गरी ड्रोन हमला गरेको दाबी गरिएको छ। क्याम्प अरिफजान, क्याम्प दोहा र क्याम्प अदैरीमा आक्रमण भएको जनाइएको छ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले इरान अमेरिकासामु नझुक्ने र कुनै पनि धम्की स्वीकार नगर्ने बताएका छन्। किर्गिस्तानमा भएको सांघाई सहयोग संगठन (एससीओ) का विदेशमन्त्रीहरूको बैठकमा बोल्दै उनले इरान आफ्नो सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षाका लागि दृढ रहेको बताएका हुन्।

यसैबीच, अमेरिकी केन्द्रीय कमान्डले पश्चिम एसियामा सैन्य अभ्यासका क्रममा अमेरिकी नौसैनिकहरूले एम–१४२ हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टमलाई केसी–१३०जे सुपर हर्क्युलिस विमानमा लोड गरिरहेको तस्बिर सार्वजनिक गरेको छ।

प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com