काठमाडौं । रुसले युक्रेनमाथिको आक्रमण थप तीव्र बनाएको छ । राजधानी किभनजिक शुक्रबार आयोजित ड्रोन प्रविधि प्रदर्शनीमा गरिएको ब्यालिस्टिक मिसाइल आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार आक्रमणमा करिब १०० जना घाइते भएका छन् । प्रदर्शनीमा रक्षा क्षेत्रसँग सम्बन्धित उच्च अधिकारी, सैन्यविज्ञ तथा प्रविधि विशेषज्ञहरूको उपस्थिति रहेको बताइएको छ ।
रुसले पनि उक्त आक्रमण गरेको पुष्टि गरेको छ । रुसी रक्षा मन्त्रालयले प्रदर्शनीमा प्रदर्शन गरिएका ड्रोनहरू रुसका नागरिक क्षेत्रहरूमा आक्रमण गर्न प्रयोग हुने भएकाले त्यसलाई निशाना बनाइएको दाबी गरेको छ ।
यसैबीच, राष्ट्रपति जेलेन्स्कीले शुक्रबार साँझ रुसले आगामी ४८ घण्टाभित्र अर्को ठूलो मिसाइल आक्रमण गर्न सक्ने सूचना आफूहरूले प्राप्त गरेको बताएका छन् ।
शुक्रबार नै युक्रेनले पनि रुसमाथि जवाफी आक्रमण गरेको छ । रुसको किरोभ सहरमा भएको आक्रमणमा ६ जनाको मृत्यु भएको छ । २६ जना घाइते भएका छन् ।
युद्धको अग्रमोर्चाबाट करिब एक हजार किलोमिटरभन्दा टाढा रहेको उक्त सहरमा युक्रेनले रुसको सबैभन्दा ठूलो अनलाइन खुद्रा व्यापार कम्पनी वाइल्डबेरिजका गोदामहरूलाई पनि निशाना बनाएको छ ।
- बीबीसी
प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार













प्रतिक्रिया