एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारी गरिएको अहिलेसम्मकै ठूलो सैन्य कारबाही तत्कालका लागि रोक्ने निर्णय गरेका छन्।

‘द न्युयोर्क टाइम्स’ र ‘एक्सियोस’का अनुसार शुक्रबार शीर्ष सुरक्षा सल्लाहकार तथा मन्त्रिपरिषद्का सदस्यहरूसँगको उच्चस्तरीय बैठकपछि ट्रम्पले अमेरिकी सेनालाई इरानमाथि थप ठूलो हमला नगर्न निर्देशन दिएका हुन्।

मध्यपूर्वमा तैनाथ अमेरिकी सेनासँग हवाई प्रतिरक्षाका लागि प्रयोग हुने प्याट्रियट इन्टरसेप्टर मिसाइललगायत हतियारको भण्डार तीव्र रूपमा घटिरहेको सैन्य अधिकारीहरूले चेतावनी दिएपछि ट्रम्पले यस्तो निर्णय गरेको जनाइएको छ।

जोइन्ट चिफ्स अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले इरानविरुद्ध व्यापक सैन्य अभियान सञ्चालन गर्दा मध्यपूर्वमा रहेका अमेरिकी सैनिक तथा उसका सहयोगी राष्ट्रका सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुन सक्ने सुझाव दिएका थिए। रिपोर्टअनुसार अप्रिलको अन्त्यसम्म अमेरिकाले इरानविरुद्धको अभियानका क्रममा १ हजार २ सयभन्दा बढी प्याट्रियट इन्टरसेप्टर मिसाइल प्रयोग गरिसकेको थियो।

यद्यपि, ट्रम्पको यो निर्णय अस्थायी हो वा दीर्घकालीन भन्नेबारे स्पष्ट भइसकेको छैन। आवश्यक परेको अवस्थामा ठूलो सैन्य कारबाहीका लागि अमेरिकी सेना तयारी अवस्थामा रहेको जनाइएको छ।

यस निर्णयसँगै इरानका सैन्य अखडालाई लक्षित गरी लगातार १३ रातसम्म बमबारी गरेको अमेरिकाले शुक्रबार राति भने कुनै हवाई हमला गरेन। पछिल्ला दुई सातादेखि जारी सैन्य तनावबीच उक्त रात पहिलोपटक अमेरिकी पक्षबाट हवाई हमला नभएको बताइएको छ।

यसैबीच, इरानले बहराइनमा रहेको अमेरिकी फिफ्थ फ्लिटको नौसैनिक अखडालाई लक्षित गरी ड्रोन र मिसाइल प्रहार गरेको छ। आक्रमणपछि उक्त क्षेत्रमा कैयौँ ठूला विस्फोट भएको जनाइएको छ।

अमेरिकी सैनिकको सुरक्षालाई लिएर चिन्ता

जोर्डनमा हालै तीन अमेरिकी सैनिकको मृत्यु भएपछि इरानसँगको सैन्य तनावलाई लिएर अमेरिकाभित्र थप चिन्ता बढेको छ। इरानी ड्रोन तथा मिसाइल आक्रमणका क्रममा एउटा ब्यालिस्टिक मिसाइल अमेरिकी सुरक्षा घेरा पार गर्दै भित्र प्रवेश गरेको दाबी गरिएको छ।

यद्यपि, अमेरिकी रक्षा मन्त्रालय (पेन्तागन)ले सम्भावित परिस्थितिको सामना गर्न मध्यपूर्वमा थप सैनिक तथा सैन्य हतियार पठाइरहेको छ।

यसैबीच, अमेरिकी सैन्य रणनीतिकारहरूले इरानका ऊर्जा पूर्वाधार, यातायात सञ्जाल तथा पिकएक्स माउन्टेनमा रहेको आणविक केन्द्रलाई लक्षित गरी सम्भावित सैन्य कारबाहीका विभिन्न विकल्पसमेत तयार पारेको रिपोर्टमा उल्लेख छ।

प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com