जेरुसेलम । इजरायलमा आगामी अक्टोबर २७ मा हुने आमनिर्वाचनअघि राजनीतिक प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणपछि उत्पन्न सुरक्षा र राजनीतिक संकटका बीच पूर्व सेना प्रमुख गदी आइसेनकोट प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिस्पर्धीका रूपमा उदाएका छन्।
हालै सार्वजनिक ‘च्यानल–१२’को सर्वेक्षणअनुसार आइसेनकोट नेतृत्वको नयाँ पार्टी याशरले १२० सदस्यीय नेसेटमा २३ सिट जित्ने अनुमान गरिएको छ भने नेतान्याहुको लिकुड पार्टी २२ सिटमा सीमित रहने प्रक्षेपण गरिएको छ। सर्वेक्षणमा ४३ प्रतिशत उत्तरदाताले आइसेनकोटलाई प्रधानमन्त्रीका लागि उपयुक्त उम्मेदवार मानेका छन् भने नेतान्याहुको पक्षमा ३४ प्रतिशत मत देखिएको छ।
सन् २०१५ देखि २०१९ सम्म इजरायली सेनाको प्रमुख रहेका ६६ वर्षीय आइसेनकोटले सुरक्षा, राष्ट्रिय एकता र राज्य व्यवस्थाको पुनःस्थापनालाई चुनावी एजेन्डा बनाएका छन्। उनले हमासको २०२३ को आक्रमण र त्यसपछिको गाजा युद्धसँग सम्बन्धित घटनाको स्वतन्त्र राज्यस्तरीय छानबिन आयोग गठन गर्ने प्रतिबद्धता जनाएका छन्।
आइसेनकोटले सेना सुदृढीकरण, सीमा सुरक्षा मजबुत बनाउने, अति–रूढिवादी यहुदी (हरेदी) र अरब नागरिकलाई समेत अनिवार्य राष्ट्रिय सेवामा समेट्ने कानुनी व्यवस्था गर्ने तथा न्यायपालिका, विधिको शासन, प्रेस स्वतन्त्रता र अल्पसंख्यक अधिकारको संरक्षणलाई प्राथमिकतामा राखेका छन्।
उनी लेबनानस्थित हिजबुल्लाहविरुद्ध प्रयोग गरिएको ‘दहिया सिद्धान्त’का प्रमुख रणनीतिकारका रूपमा पनि परिचित छन्। यद्यपि, इजरायल–प्यालेस्टाइन द्वन्द्वको दीर्घकालीन समाधानबारे उनको स्पष्ट राजनीतिक खाका भने अझै सार्वजनिक भएको छैन।
गाजा युद्धका क्रममा आफ्ना छोरा र दुई भतिजा गुमाएका आइसेनकोटप्रति जनसहानुभूति बढेको विश्लेषण गरिएको छ। अनिवार्य सैन्य सेवामा उनले लिएको अडानले नेतान्याहुको अति–रूढिवादी गठबन्धनसँग स्पष्ट राजनीतिक दूरी सिर्जना गरेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार नेतान्याहुको नेतृत्वप्रति असन्तुष्ट तर दक्षिणपन्थी सोच भएका मतदाताहरू नयाँ विकल्पको खोजीमा रहेकाले त्यसको प्रत्यक्ष लाभ आइसेनकोटलाई पुग्न सक्ने देखिएको छ। विपक्षी नेता यायर लापिड र पूर्वप्रधानमन्त्री नाफ्टाली बेनेट चुनावी मैदानमा रहे पनि पछिल्ला सर्वेक्षणहरूले नेतान्याहुलाई सबैभन्दा बलियो चुनौती आइसेनकोटबाट आउने संकेत गरेका छन्।
प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार













प्रतिक्रिया