काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मानव बेचबिखनको स्वरूप प्रविधिमैत्री र जटिल बन्दै गएको भन्दै यसको नियन्त्रणका लागि राज्य, सुरक्षा निकाय, नागरिक समाज तथा अन्तर्राष्ट्रिय समुदायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताएका छन्।
विश्व मानव बेचबिखनविरुद्धको दिवसका अवसरमा आयोजित ‘नेपालमा मानव बेचबिखनविरुद्ध लड्न सामूहिक प्रयास’ विषयक कार्यक्रममा बोल्दै उनले मानव बेचबिखन अब परम्परागत यौन तथा श्रम शोषणमा मात्र सीमित नरही साइबर अपराधसँग गाँसिएको संगठित अन्तर्राष्ट्रिय अपराधमा रूपान्तरण भइरहेको बताए।
आईजीपी कार्कीका अनुसार आकर्षक रोजगारीको प्रलोभन देखाएर सर्वसाधारणलाई विदेश लैजाने, त्यहाँ बन्धक बनाएर डिजिटल प्लेटफर्ममार्फत अनलाइन ठगी, साइबर स्क्याम र अन्य अवैध गतिविधिमा संलग्न गराउने घटनामा उल्लेख्य वृद्धि भएको छ।
उनले मानव बेचबिखनलाई साइबर अपराध, आर्थिक अपराध र अन्तर्राष्ट्रिय आपराधिक सञ्जालसँग जोडिएको चुनौतीका रूपमा बुझेर अनुसन्धान तथा नियन्त्रण रणनीति निर्माण गर्नुपर्नेमा जोड दिए।
बदलिँदो चुनौतीसँग प्रभावकारी रूपमा जुध्न कानुनी व्यवस्था, प्राविधिक क्षमता र अन्तर्राष्ट्रिय सहकार्यलाई थप सुदृढ बनाउनु आवश्यक रहेको उल्लेख गर्दै उनले मानव बेचबिखनविरुद्धको अभियानमा सबै सरोकारवाला निकायको सक्रिय सहभागिताको आह्वान गरे।
प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया