रौतहट । भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’को हराएको गोली, म्यागजिनसहितको स्वचालित हतियार बारास्थित नेपाल–भारत सीमा क्षेत्रबाट बरामद भएको छ ।

भारतको बिहारस्थित घोडा सहन थाना क्षेत्र अन्तर्गत अठमोहान क्याम्पका एसएसबीको सोमबार साँझ हराएको हतियार बारास्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट गोलागन्जको सूचनाको आधारमा भारतीय क्षेत्रबाट बरामद भएको सशस्त्र प्रहरी मधेस प्रदेशका प्रमुख डिआइजी गणेश ठाडा मगरले बताए ।

एसएसबी अठमोहानका एक जना जवान गस्तीको क्रममा सोमबार साँझ ७ बजे सतुवाही नाका नजिकै एउटा झोलामा एसएमजी हतियार भुईँमा राखेर पिसाब फेर्ने क्रममा उक्त हतियार हराएको थियो ।

हतियार हराएपछि भारतीय सीमा सुरक्षा बल एसएसबी, इलाका प्रहरी कार्यालय सिम्रौनगढ र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट गोलागन्जको संयुक्त टोलीले रातभरि सीमावर्ती क्षेत्रमा हतियारको खोजी गरेको थियो ।

मङ्गलवार बिहान सशस्त्र प्रहरीले पाएको सूचनाको आधारमा एसएसबीले घोडा सहन थाना क्षेत्र अन्तर्गत कोईरगांवा गाउँछेउ खेतमा फालेको झोलाभित्रबाट एसएमजी १ थान, ३५ राउन्ड गोलीसहितको म्यागजिन बरामद गरेको डिआइजी ठाडा मगरले जानकारी दिए ।

हतियार बरामद भएपछि एसएसबीले नेपाली सुरक्षा निकाय तथा सशस्त्र प्रहरी बलप्रति आभार प्रकट गरेको उनले बताए ।

 

प्रकाशित मिति: १२ पुस २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com