काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मधेशका विभिन्न जिल्लामा पछिल्लो समय देखिएको तनाव र सामाजिक सद्भाव कायम गर्ने उपायबारे मधेशबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार भएको छलफलमा सुनसरीसहित मधेशका विभिन्न जिल्लाको पछिल्लो सुरक्षा अवस्था, सामाजिक सद्भाव र शान्ति कायम गर्ने विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के. शर्मा, प्रभु साह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी र जयकान्त राउत लगायतका नेताहरू सहभागी थिए।

यसअघि बिहीबार प्रधानमन्त्री शाहले मधेशमा विकसित पछिल्ला घटनाक्रमबारे देशवासीका नाममा सम्बोधन गर्दै शान्ति, सामाजिक सद्भाव र कानुनी शासन कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका थिए।

त्यसपछि प्रधानमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय यादवसँग समेत भेटवार्ता गरी विकसित अवस्थाबारे छलफल गरेका थिए।

सरकारले मधेश क्षेत्रमा देखिएको तनाव समाधानका लागि राजनीतिक संवादलाई प्राथमिकता दिँदै विभिन्न पक्षसँग परामर्शलाई निरन्तरता दिएको जनाएको छ।

प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com