काठमाडौं । उत्तरी अफ्रिकास्थित स्पेनको स्वायत्त क्षेत्र स्युटामा पछिल्लो एक सातायता हजारौँ आप्रवासी समुद्री मार्ग हुँदै प्रवेश गरेपछि मानवीय र सुरक्षा संकट गहिरिएको छ। मोरक्कोबाट हावा भरिएका ट्युब र पौडीको सहारामा समुद्र पार गरी स्युटा पुग्नेहरूको संख्या बढेसँगै स्थानीय प्रशासनले स्पेन सरकारसँग तत्काल हस्तक्षेपको माग गरेको छ।
स्युटाका क्षेत्रीय प्रमुख हुआन जिसस भिभासले उपलब्ध स्रोत–साधनले अहिलेको चाप धान्न नसक्ने अवस्था सिर्जना भएको बताएका छन्। स्पेनका गृहमन्त्री फर्नान्डो ग्रान्डे–मार्लास्काले पनि शुक्रबार स्युटाको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको छ।
सार्वजनिक भिडियोहरूमा आप्रवासीहरू समुद्र पौडिएर वा हावा भरिएका ट्युबको सहायताले स्युटा प्रवेश गरिरहेको देखिएको छ। कतिपयले सीमामा लगाइएको सुरक्षात्मक बार तोडेर पनि प्रवेश गरेको जनाइएको छ।
यसै महिनाको सुरुमा स्पेनको सर्वोच्च अदालतले स्युटा वा मेलिला समुद्री मार्ग हुँदै पुग्ने आप्रवासीलाई कानुनी प्रक्रिया पूरा नगरी तत्काल मोरक्को फर्काउन नमिल्ने फैसला दिएको थियो। स्पेनको गृह मन्त्रालयका अनुसार यही निर्णयको फाइदा उठाउँदै मानव तस्कर समूहहरूले युवाहरूलाई अवैध रूपमा स्युटा पठाउन सक्रिय भएका छन्।
आप्रवासीको वास्तविक संख्या भने फरक–फरक छ। स्पेनिस सञ्चारमाध्यमहरूले बिहीबार मात्रै २ हजारदेखि ३ हजार जना स्युटा पुगेको दाबी गरेका छन् भने सरकारी सञ्चारमाध्यम आरटीभीईले पछिल्लो दुई सातामा १ हजार ५ सयभन्दा बढी मोरक्केली युवाहरू प्रवेश गरेको जनाएको छ।
स्युटा प्रशासनका अनुसार हालैका महिनामा समुद्रबाट ६० जनाभन्दा बढी आप्रवासीको शव फेला परिसकेको छ। नाबालिग तथा अभिभावकविहीन बालबालिकाका लागि बनाइएका आश्रय केन्द्रहरू पनि क्षमताभन्दा धेरै मानिसका कारण दबाबमा परेका छन्।
यसअघि सन् २०२१ मा केही दिनभित्रै ८ हजारभन्दा बढी आप्रवासी स्युटा प्रवेश गर्दा स्पेन–मोरक्को सम्बन्धमा गम्भीर कूटनीतिक तनाव उत्पन्न भएको थियो।
यस घटनापछि इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले पनि कडा प्रतिक्रिया दिएकी छन्। उनले सामाजिक सञ्जाल ‘एक्स’मार्फत स्युटाको अवस्थालाई युरोपको सीमा सुरक्षाका लागि गम्भीर चुनौती भन्दै स्पेनलाई सेन्गेन क्षेत्रबाट निलम्बन गर्ने विषयमा छलफल गर्नुपर्ने धारणा व्यक्त गरेकी छन्।
प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया