काठमाडौं । पोखरा महानगरपालिका-१८ चिसाखोला क्षेत्रका विभिन्न खाजाघरमा बालिकालाई ललाइफकाइ अनैतिक कार्यमा लगाएको आरोपमा प्रहरीले चार जना महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१८ बस्ने ४२ वर्षीया मनदेवी क्षेत्री, ४१ वर्षीया इन्द्रा लामा, ४५ वर्षीया टिकामाया तामाङ र ४० वर्षीया मिनकुमारी गुरुङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आर्थिक अवस्था कमजोर भएका बालिकालाई विभिन्न आर्थिक प्रलोभन देखाई अनैतिक कार्यमा संलग्न गराउने गरेको गोप्य सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

कारबाहीका क्रममा प्रहरीले उक्त स्थानबाट एक पीडित बालिकाको सकुशल उद्धार गरेको छ।

पक्राउ परेका चारै जना विरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतबाट शुक्रबार सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

प्रकाशित मिति: १६ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com