काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको धारणा व्यक्त गरेकी छन्।

शनिबार ‘शाही युवा शक्ति, नेपाल’ले आयोजना गरेको ‘राजाको पक्षमा जनताको हस्ताक्षर अभियान–२०८३’ कार्यक्रममा बोल्दै उनले आफूले संवैधानिक राजसंस्थाको महत्त्व आफ्ना हजुरबुबा तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको राजनीतिक सोचबाट बुझेको बताइन्।

उनले बीपी कोइरालाको ‘राजा र मेरो घाँटी जोडिएको छ’ भन्ने चर्चित भनाइ स्मरण गर्दै राष्ट्रिय मेलमिलापको नीति आजको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरिन्। उनका अनुसार बीपीले राजसंस्था र प्रजातन्त्रलाई एकअर्काका प्रतिस्पर्धी नभई लोकतन्त्रका परिपूरक संस्थाका रूपमा हेरेका थिए।

मनिषाले बहुदलीय व्यवस्था र गणतन्त्र स्थापनापछि पनि जनताले अपेक्षा गरेको समृद्धि र स्थायित्व हासिल हुन नसकेको टिप्पणी गर्दै विदेशी मोडलको अन्धानुकरणभन्दा नेपालको ऐतिहासिक र मौलिक संस्थालाई संरक्षण गर्नुपर्ने धारणा राखिन्।

नेपालको विशिष्ट भूराजनीतिक अवस्थालाई ध्यानमा राख्दै राष्ट्रिय एकता, स्वतन्त्रता र सार्वभौमिकताको रक्षा गर्न संवैधानिक राजसंस्था आवश्यक रहेको उनको भनाइ थियो।

प्रकाशित मिति: १६ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com