काठमाडौं । दसैंको शुभकामना दिँदै राजा ज्ञानेन्द्र शाहले समसामयिक राजनीतिकबारे आफ्ना धारणा पनि सार्वजनिक गर्नुभएको छ।

उहाँले नेपालको विद्यमान संविधान र व्यवस्थामाथि प्रश्न उठाउँदै मौलिकता, राष्ट्रियता, नागरिकता, परराष्ट्र नीति, भागबन्डा केन्द्रित राजनीति र भ्रष्टाचारको विषयमा आफ्ना धारणा सार्वजनिक गर्नुभएको हो।

advertisement

शुक्रबार सार्वजनिक गरिएको भिडिओ सन्देशमा नेपाली जनताले अभिभावकीय भूमिका खोजिरहेको उहाँले बताउनुभएको छ।

‘विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ। पहिले पनि हामीले भनिसकेका छौं- हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्न हुँदैन। राष्ट्र, प्रजातन्त्र, मौलिक मान्यता र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकीय राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चोखो चाहना परिपूर्ति गर्न नवदुर्गा भवानीले प्रेरणा प्रदान गरून्,’ उहाँले भन्नुभएको छ।

उहाँले भ्रष्टाचारले समाज र व्यवस्थालाई थप भ्रष्ट बनाएको र सर्वसाधारणका दैनिक जीवन सकसपूर्ण बन्दै गइरहेको पनि बताउनुभएको छ।

राष्ट्र र राष्ट्रियता सर्वाधिक संकटापन्न स्थितिमा रहेको बताउँदै उहाँले अहिले बलियो मियो आवश्यक रहेको पनि बताउनुभयो।

एकातिर युवाहरु विदेश पलायन हुने र अर्कोतिर बाहिरियाहरुलाई भित्राउने प्रपन्च रचिएको भन्दै उनले नेपालको धर्म, संस्कृति र सभ्यतामाथि घातक प्रहार भएको बताउनु भयो।

‘अर्कातिर बाहिरियाहरुलाई भित्राउने र वास्तविक नेपालीलाई धरापमा पार्दै जाने प्रपन्चप्रति चासो र चिन्ता बढेको छ,’ उहाँले भन्नुभयो, ‘विश्वका दुई ठूला मुलुकका बीचमा अवस्थित हाम्रो देशको धर्म, सँस्कृति, सभ्यतामाथि घातक प्रहार हुँदै आएको छ ।’

डेढ दशकको राजनीतिक अभ्यासले कोर्स करेक्सनको अपरिहार्यता सिद्ध गरेको बताउँदै उहाँले भन्नुभयो, ‘देशका प्रति बफादारी र जनताप्रति उत्तरदायी भएर काम गर्ने विधि व्यवस्था, संगठन एवम् प्रतिनिधित्वको सही पात्र आज देशले खोजिरहेको छ ।’

अहिले देशलाई दाउँमा लग्ने अवस्था बनेको भन्दै उहाँले देशले कहिल्यै पनि हार्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो राष्ट्रियता र इतिहास सर्वाधिक संकटापन्न स्थितिमा छ । हाम्रा मौलिका धार्मिक, साँस्कृतिक मान्यताहरु विस्थापित गर्ने क्रमलाई तीव्रता दिइएको छ । परराष्ट्र नीति असन्तुलित भइदिंदहा राष्ट्रहित र सुरक्षा संकटग्रस्त बन्दै गएको छ । व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पथभ्रष्ट तुल्याएको छ । सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ । विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउँमा लग्ने अवस्था बनेको छ । पहिले पनि हामीले भनिसकेका छौं हाम्रो कुनै कार्यले देश कहिले पनि हार्न हुँदैन ।’

राष्ट्र, प्रजातन्त्र, मौलिक मान्यताहरु र नेपाली एकता रक्षाका लागि एकजुट हुँदै अभिभावकीय रक्षा व्यवस्थाको रक्षामा समर्पित रहने देशभक्ति नेपालीहरुको चाहना परिपूर्ति गर्न नवदूर्गा भवानीले प्रेरणा प्रदान गरुन् भन्ने कामना गर्नुभएको छ।

 

प्रकाशित मिति: १४ आश्विन २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com