काठमाडौं । आफ्नो खास क्षेत्र र मतदाता बनाउन नसकेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हरेक निर्वाचन टाउको दुखाइ बन्छ ।
निर्वाचनको मुखैमा पुग्दा पनि चुनाव जित्ने निश्चित नभएपछि प्रचण्ड देश भरिमा सुरक्षित क्षेत्र खोज्दै भाैतारिने गर्छन । उनि आफू देशको नेता भएकाले देशै भरिबाट चुनाव लड्न चाहेको बताउँछन । तर वास्तविकता आफूले चाहेको ठाउँ सुरक्षित नभएपछि उनि सुरक्षित ठाउँको खोजी गर्दै चुनाव नै पिच्छे फरक निर्वाचन क्षेत्रमा पुग्छन् ।
माओवादी शान्ति प्रक्रियामा आएपछि प्रचण्डले कुनै पनि निर्वाचन क्षेत्रमा दोहोर्याएर चुनाव लडेका छैनन् । एक पटक काठमाडौंबाट उनले दोहोर्याएर उम्मेदवारी दिएका थिए। तर चुनाव जित्न सकेनन् । त्यति बेला प्रचण्ड सिराहा र काठमाडौंबाट चुनाव लडेका थिए। सिराहामा समेत बत्ती निभाएर चुनाव जिताएका माओवादीकै नेताहरू बताउँछन् ।
२०७४ को प्रतिनिधि सभा निर्वाचनमा प्रचण्ड चितवनको क्षेत्र नं ३ बाट चुनाव लडेका थिए । आउने मङ्सिर ४ मा हुने निर्वाचनमा पनि उनि त्यहीँबाट चुनाव लड्ने तयारीमा थिए । चितवनमा चुनाव लड्नकाे लागि प्रचण्ड बारम्बार चितवन आउने जाने गर्दै थिए।
चुनावको मुखमा आइपुग्दा पनि चितवनमा आफ्नो पक्षमा माहौल नबनेपछि उनले एकाएक चितवन छाडे र उनी अहिले प्रतिनिधि सभाको चुनाव लड्न गोरखा पुगेका छन्।
यस अघि बाबुराम भट्टराईले चुनाव जित्दै आएको सो क्षेत्र बाबुरामले काठमाडौंमा माओवादी लगायतको गठबन्धनको समर्थनमा छोरी उठाएर प्रचण्डसँग साटेका छन्। बाबुरामले संसदीय राजनीतिबाट बाहिरिएर आफ्नो सट्टामा छोरी ल्याएका छन्। माओवादीले उनकी छोरीलाई काठमाडौंबाट जिताउने बचन दिएपछि बाबुराम प्रचण्डलाई बोकेर गोरखा पुगेका छन्।
माओवादी अध्यक्ष प्रचण्ड अहिले गोरखामा आफ्नो लागि भोट माग्दै छन् । पाहुनाको रुपमा गोरखा पुगेका प्रचण्डलाई भोट माग्न निक्कै अप्ठेरो परेको छ ।
पार्टीको केन्द्रीय अध्यक्ष रहेका प्रचण्ड आफ्नै पार्टीका जिल्ला, पालिका लगायतका भूगोलका नेता कार्यकर्ता चिन्दैनन । झन् मतदातालाई त चिन्ने कुरै भएन । प्रचण्ड गोरखामा भोट त माग्दै छन् तर न नेता–कार्यकर्ता चिन्नु, न मतदाता चिन्नुको अवस्था छ ।
प्रचण्डको भोट मगाई फ्लिमको हिरोको जस्तो छ । जता जता मान्छे देखिन्छन्, त्यतै त्यतै हात जोड्दै र मुन्टो हल्लाउँदै हिँड्ने । चिन्नु न जान्नु फिस्स हाँस्ने ।
माओवादी अध्यक्ष प्रचण्ड आफूलाई हर बखत सुप्रिमो भन्नछन् । तर निर्वाचनको बेला जनता सुप्रिमो हुन्छन् । सायद गोरखा पुगेपछि उनले थाहा पाएका छन् ।
माओवादी सुप्रिमो प्रचण्ड अहिले गोरखाली सुप्रिमोहरुसँग हात जोड्दै छन् । निर्णय जनताको हातमा छ । फैसला मङ्सिर ४ मा हुने छ ।
कसैले स्वीकार गरे पनि नगरे पनि प्रचण्ड गोरखाको लागि पाहुना नै हो । पाहुनाले गाउँको समस्या बुझेका पक्कै हुँदैनन् । स्थानीय नेताले जे जे भन भन्यो त्यही भन्ने हो, उनीहरूले जे सुनाउँछन्, त्यही सुन्ने हो । पाहुनासँग मन खोलेर कुरा राख्न पनि सकिँदैन । अहिले गोरखाली जनता त्यही समस्यामा परेका छन् ।
प्रकाशित मिति: २८ आश्विन २०७९, शुक्रबार













प्रतिक्रिया