दाङ । दाङका रोशनी महतरा र शरद आचार्य हत्या-काण्डको नयाँ तथ्य फेला परेको छ। लामो अनुसन्धानपछि बँदेल मार्न थापिएको विद्युतीय धरापमा परि उनीहरूको मृत्यु भएको तथ्य प्रहरीले पत्ता लगाएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँकी १५ वर्षीया रोशनी महतरा र जिल्लाकै दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव स्थानीय जंगलमा असोज ३० माटोले पुरिएको अवस्थामा फेला परेको थियो।

advertisement

उनीहरु असोज २७ गते राति करिब सवा दश बजेतिर घरबाट निस्किएका थिए। साढे दश बजेपछि सम्पर्कबिहिन थिए।

आपसमा सामाजिक संजालमा कुरा गर्दै एक अर्कालाई भेट्नका घर बाहिर निस्किएका उनीहरू सोही दिन गाउँकै चार जना ब्यक्तिले बँदेल मार्न थापेको विद्युतीय पासोमा परेका थिए।

बँदेल मार्न भनेर ती चार जनाले रोशनीको घर नजिककैको कुखुरा फार्मबाट बिजुलीको तार तानेर करेन्टको धराप बिच्छाएका थिए। सोही करेन्टको धरापमा परि रोशनी र शरदको ज्यान गएको एक प्रहरी अधिकृतले जानकारी दिए।

शनिबार दिउँसो नै प्रहरीले पत्रकार सम्मेलन गरि घटनामा संलग्न चार जनालाई सार्वजनिक गर्ने तयारी गरेको छ। पक्राउ परेका चारै जना दमारगाउँका स्थानीय हुन्।

रोशनीको बायाँ हातमा करेन्टले जलेको स्पष्ट खत थियो। पोष्टमार्टम रिपोर्टले पनि उनको मृत्युको कारण ‘इलेक्ट्रिक शक’ लाई नै मानेको थियो।

पोष्टमार्टम रिपोर्टपछि प्रहरी थप अन्यौंलमा पर्‍यो र नयाँ ढंगले घटना अनुसन्धान गर्न सुरू गर्‍यो। घटना अनुसन्धानका लागि सिआइबीको टोली पनि खटिएको थियो।

बँदेल मार्न भनेर थापेको विद्युतीय धरापमा परि रोशनी र शरदको एकसाथ मृत्यु भएपछि उक्त धराप थाप्ने चार जनाले सोही दिन राति आपसमा सल्लाह गरेर उनीहरूको शव व्यवस्थापन गरेका थिए।

त्यसरी घटनास्थलमै रोशनी र शरदको शबहरू छोड्दा बँदेल मार्न थापेको धरापमा परि उनीहरूको मृत्यु भएको गाउँ समाजले थाहा पाउने र त्यसले आफूहरूलाई अप्ठेरो हुने निस्कर्षपछि उनीहरूले दुबैको शब ब्यबस्थापन गरेको प्रहरी अधिकारीले जानकारी दिए।

‘विद्युतीय धरापमा परि दुबैको मृत्यु भएपछि उनीहरूका बीचमा सल्लाह अनुसार घर गएर बोरा र खन्नलाई फरूवा ल्याएछन्,’ ती प्रहरी अधिकारीले भने, ‘त्यहीँ बोरामा राखेर शब जंगलबीचको चिरोमा लगेर फरूवाले खनेर माटोले पुरेको तथ्य उनीहरूले स्वीकार गरिसकेका छन्।’

त्यसपछि उनीहरूले शब बोकेर लगेका बोराहरू जलाएको प्रहरीले बताएको छ।

यसअघि पक्राउ परेकामध्येहरू सामाजिक सञ्जाल र युटुवमा हत्या विरूद्ध चर्को आवाज उठाउँदै आएका ती प्रहरी अधिकारीले बताए। ‘यो घटनामा जो चोर उसैको ठूलो स्वर भने जस्तै देखियो,’ ती प्रहरी अधिकारीले भने, ‘घटनामा संलग्न ब्यक्तिमध्ये केहीले हत्यारालाई फाँसीको सजाय हुनुपर्छ भन्दै युटुबमा अन्तर्वार्तासमेत दिएका छन्।’

यसअघि पनि प्रहरीले चिनजानकै र नकिजकै ब्यक्तिबाट उनीहरुको हत्या भएको आशंका गर्दै आएको थियो। हालसम्म उनीहरुको हत्या भएको दाबी हुँदै आएको थियो।

रोशनी र शरदको करेन्टबाट मृत्यु भइसकेपछि घटनालाई मोड्न चार जना ‘शिकारी’ ले मिलेर उनीहरुको टाउको र शरीरका बिभिन्न भागमा ढुंगाले थिचेको तथ्य खुलेको पनि प्रहरीले बताएको छ।

प्रकाशित मिति: १९ कार्तिक २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com