काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रुपमा मनाएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

अध्यक्ष ओलीले फागुन १ गते जनयुद्ध दिवस नभई हिंसा दिवस भएको र त्यसलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गर्नु दुःखद भएको बताए। बिहीबार आफ्नै जन्मदिनको अवसर पारेर बालकोटस्थित निजी निवासमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले सरकारको यो मानसिकताबाट मुलुकमा अझै पनि हिंसाको मानसिकता र हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिएको उल्लेख गदै त्यस्ता कार्यलाई सही भन्न नसकिने बताए।

advertisement

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति संकेत गर्दै अध्यक्ष ओलीले हिंसाको बाटो छोडेर शान्ति प्रक्रियामा आईसकेपछि किन फेरि हिंसाको महिमामण्डन गर्नु पर्‍यो? भनी प्रश्नसमेत गरे।

उनले हिंसाप्रतिको पुरानो लगाव सम्झिनुको कुनै पनि अर्थ नरहेको पनि बताए। ओलीले भने, ‘त्यो हिंसाको धङधङी के देखिन्छ भने अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई फेरीदेखि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्नेसमेत दुःखद् निर्णय गर्‍यो। त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ। जुन कुरा चाँही सही होइन। सरकारले किन त्यो गर्‍यो? आकास्मिक रुपमा त्यो किन गर्नु पर्‍यो? आफैँले त्यो बाटो छोडेर शान्ति प्रक्रियामा आईसकेपछि किन फेरी त्यसको महिमामण्डन गर्न पर्‍यो? त्यो मैले पनि बुझेको छैन।’

त्यस अवसरमा अध्यक्ष ओलीले नेपाल हिंसाको पक्षमा हुनै नसक्ने बताए। नेपाली जनतामा परस्परमा लड्ने-लडाउने कुरा कहिल्यै पनि स्विकार्य हुन नसक्ने उनको भनाइ थियो।

  सरकारले फागुन १ गतेलाई राष्ट्रिय दिवस मनाउने निर्णय गरेर सार्वजनिक बिदा दिएको थियो। यद्यपि,  सत्ता गठबन्धनममा रहेका कुनै पनि दलहरूले आधिकारिक रूपमा त्यसबेला विरोध या समर्थन गरेका थिएनन्। एमाले अध्यक्ष ओलीले पनि आज ११ दिनपछि बल्ल विरोधको स्वर सुनाएका हुन्।

प्रकाशित मिति: ११ फाल्गुन २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com