काठमाडौं । कांग्रेसनेतृत्वको पुरानो गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ। राष्ट्रपति निर्वाचनमा सहमति जुटाउन नेताहरू बैठकमा बसेका हुन्।
बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।
कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलगायत पनि बैठकमा सहभागी छन्।
प्रचण्डले शुकबार नै एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ता गर्दैछन्।
यसअघि बिहीबार माओवादी केन्द्र, एस र जसपाका शीर्ष नेताहरूको बैठकले राष्ट्रपतिमा माधवकुमार नेपाललाई अघि सार्ने समझदारी बनाएको थियो। एमालेले पनि नेपाललाई समर्थन गर्ने सन्देश प्रचण्डलाई दिइसकेको छ।
कांग्रेसले भने आफ्नै पार्टीबाट राष्ट्रपति हुनुपर्ने अडान लिएको छ। कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय यसअघि नै गरिसकेको छ। प्रधानमन्त्री दाहालले कांग्रेस र एमाले दुवैसँग समानान्तर छलफल चलाइरहेका छन्।
शीर्ष नेताहरूबीच सहमति जुटे पुरानै गठबन्धन ब्युँताउने प्रयास भइरहेको छ।
प्रकाशित मिति: १२ फाल्गुन २०७९, शुक्रबार













प्रतिक्रिया