काठमाडौं । माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलको समर्थक बस्दा समेत राष्ट्रपति निर्वाचनमा माओवादीको साथ पाउने आशा एमाले नेताहरूले गुमाएका छैनन्।
“प्रचण्डजी (प्रधानमन्त्री पुष्पकमल दाहाल)ले पुनर्विचार गर्नुहुन्छ भन्ने हामीलाई लागेकोले नै सरकार नछोडेको हो। उहाँ हतार गरेर जानुभयो हामीसँग छलफल नै टुङ्गिएको थिएन,” एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भनिन्।
“हामीसँग भएको सहमति जीवित राख्ने मौका उहाँहरूसँग फागुन २५ सम्म छ त्यसैले हामी राष्ट्रपति निर्वाचनसम्म पर्खन्छौँ। नतिजामा सहयोग भएन भने सरकार छोड्छौँ।”
माओवादी र एमालेले अझैसम्म सत्ता गठबन्धन तोडिसकेको घोषणा गरेका छैनन् तर माओवादी र जनमत पार्टी सहित सरकारमा रहेका दलहरूले समेत पौडेललाई समर्थन गरेका छन्।
प्रचण्ड नेतृत्वको सरकारमा आठ जना मन्त्री रहेको एमाले सरकारबाट बाहिरिँदा यसअघि नै सरकारलाई विश्वासको मत दिएको कांग्रेसको सत्तारोहण सहज हुने कतिपयको ठम्याई छ। तर एमाले नेताहरू कांग्रेसलाई रोक्नका लागि मात्रै आफ्नो दल सरकारमा नरहेको दाबी गर्छन्।
एमाले सरकारमा अडिनुको कारण
माओवादीले एमालेसँगको सहकार्यलाई निरन्तरता नदिने स्पष्ट सङ्केत गरे पनि माओवादीले सरकार नछाड्नुमा राष्ट्रपति निर्वाचनसम्म प्रचण्डलाई फर्काउन सकिने आशा एमाले नेताहरूमा देखिन्छ।
“हामीसँग भएको पुस १० को समझदारी आधिकारिक हो की कांग्रेससँग भएको आधिकारिक हो भन्ने जवाफ हामीले प्रचण्डसँग खोजिरहेका छौँ त्यसको उत्तर पर्खेर हामी सरकारबाट बाहिरिन हतार नगरेको हो,” एमाले नेता विष्णु रिजालले भने।
एमालेको अनुमान भन्दा छिटो माओवादी-कांग्रेस समीकरण बनेका कारण त्यो समीकरण पनि छिट्टै टुट्ने आशङ्का एमालेका कतिपय नेताहरूले गरेका छन्।
“गठबन्धन के हुन्छ भन्ने त एक ढङ्गले देखिइसक्यो। तर पनि राष्ट्रपति चुनावसम्म हेरौँ भन्ने हो,” एमाले उपाध्यक्ष शाक्यले भनिन्।
यसअघि कांग्रेसले प्रतिपक्षमा रहने तर प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेपछि एमाले अध्यक्ष केपी ओलीले माछा मार्न प्रयोग गरिने “ढोक्सा थापेको” आरोप लगाएका थिए।
अहिले पनि सरकारमा बसिरहेर ढोक्सा थापेको आरोप कतिपयले एमालेमाथि लगाएका छन्।
एमाले नेता रिजाल आफ्नो दल अझैसम्म गठबन्धन टिकाउने प्रयासमै रहेका कारण सरकार नछोडेको बताए। “राजनीति छिटो छिटो परिवर्तन भइरहेको छ। हामी पनि कोसिस गर्छौँ,” रिजालले भने।
प्रकाशित मिति: १४ फाल्गुन २०७९, आइतबार













प्रतिक्रिया