काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले ‘राजतन्त्र जिन्दावाद’ नभन्न आग्रह गरेका छन् ।
राजतन्त्र पुनर्स्थापना गर्ने भन्दै शनिबार काठमाडौंको नयाँ बानेश्वरबाट आन्दोलन सुरु गरेका प्रसाईंले राजा ज्ञानेन्द्र शाह कार्यक्रममा उपस्थित नभएपछि राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गरेका हुन् ।
यसअघि उनका समर्थकहरूले ‘राजा आऊ, देश बचाऊ’ लगायतका नाराबाजी लगाउँदै प्रदर्शन गरिरहेका थिए । तर, प्रसाईंले आफ्नो सम्बोधनका क्रममा राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गरे । उनले राजतन्त्र चाहिने हो भने पूर्वराजा शाह र उनका परिवारका सदस्यहरू पनि आफ्नो आन्दोलनमा सहभागी हुनुपर्ने शर्त राखे ।
प्रसाईंले आफू राजा ज्ञानेन्द्र शाहलाई देखाएर सांसद हुने खालको मान्छे नभएको पनि बताए । ‘तपाईंहरूले राजतन्त्र जिन्दावाद नभन्नुस् । किनभने राजतन्त्र चाहिनका लागि त उहाँहरू पनि आन्दोलनमा आउनु पर्यो नि । हामीसँगै आउनु पर्यो, भिड्नु पर्यो, हामीलाई साथ दिनु पर्यो,’ उनले भने, ‘राजा देखाएर रोटी साट्ने मान्छे होइन, दुर्गा प्रसाईं । राजा देखाएर सांसद बन्दिनँ ।’
एमालेले केन्द्रीय सदस्यबाट हटाएपछि प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ महाअभियान सञ्चालन गर्ने भन्दै काठमाडौंबाट आन्दोलनका कार्यक्रम सुरु गरेका हुन् । आफूले व्यवसाय गरिखाने, रोजगारीको अवसर सिर्जना गर्ने बाटो राज्यले बन्द गरेपछि आन्दोलन गर्न बाध्य हुनु परेको उनको भनाइ थियो ।
प्रकाशित मिति: २० फाल्गुन २०७९, शनिबार













प्रतिक्रिया