काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेका राष्ट्रपति उमेदवार सुवास नेम्वाङलाई शुभकामना दिएका छन् । सोमबार राष्ट्रपतिमा भोट माग्न धुम्बाराही पुगेका नेम्वाङलाई देउवाले ‘उपयुक्त उमेदवार’ भन्दै शुभकामना दिएका हुन् ।
स्रोतका अनुसार भेटमा देउवाले नेम्वाङलाई सबैभन्दा उपयुक्त उमेदवार भनेर तारिफ गरेका थिए । तर, आफूहरूले उमेदवार उठाइसकेकाले शुभकामना मात्र दिन सक्ने बताएका थिए ।
‘तपाईं सबैभन्दा उपयुक्त उमेदवार हो भन्नेमा विवाद रहेन । तर, हामीले उमेदवार उठाइसकेका छौँ । तपाईंलाई शुभकामना छ,’ देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
त्यसअघि आजै पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको अभिमुखीकरण कार्यक्रममा नेम्वाङले आफू ‘राजाजस्तो नभएर जनताको राष्ट्रपति बन्ने प्रयास गर्ने बताएका थिए ।
‘म चाहिँ हिजोको राजाजस्तो होइन, जनताको राष्ट्रपति बन्ने प्रयास गर्छु’ उनले अभिमुखीकरण कार्यक्रममा भनेका छन् ।
अभिमुखीकरण कार्यक्रममा एमालेका संघीय र प्रदेश सांसदहरू सहभागी थिए ।
कांग्रेसले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उमेदवार बनाएको छ । उनलाई आठदलीय गठबन्धनको साथ छ ।
राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदै छ ।
प्रकाशित मिति: २३ फाल्गुन २०७९, मंगलबार













प्रतिक्रिया