काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो पटक लिएको राहदानी प्रयोग गरेर विदेश गएको नभेटिएको अध्यागमन विभागले सरकारी वकिलको कार्यालयलाई जवाफ दिएको छ ।

लामिछानेसँग दोहोरो राहदानी रहेको र अमेरिकी नागरिकता त्याग गरेपछिमात्रै नेपाली राहदानी प्रयोग गरेको हुँदा त्यसलाई दुरुपयोग भन्न नमिल्ने निष्कर्ष विभागको रहेको स्रोतले जानकारी दिएको छ ।

advertisement

विभागले सरकारी वकिलको कार्यालयलाई लिखित प्रतिवेदन पनि दिइसकेको स्रोतले जानकारी दियो ।

सर्वोच्च अदालतले माघ १३ गते नेपालको नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सांसद पद खारेज गरेको थियो ।

सांसद पद खारेज भए लगत्तै लामिछानेले नेपालको नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा गरी माघ १५ गते नै जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट नागरिकता पुनः प्राप्त गरेका थिए ।

नागरिकता पुनः प्राप्त गरेकै दिन लामिछानेले अमेरिकी नागरिक रहँदै प्राप्त गरेको नेपाली राहदानी, राहदानी विभागमै बुझाएका थिए ।

सर्वोच्च अदालतमा नेपाली नागरिक नै नरहेका लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै रिट निवेदन दायर गरेका युवराज पौडेल ‘सफल’ले लामिछानेविरुद्ध राहदानी दुरुपयोग गरेको भन्दै प्रहरी प्रशासनमा उजुरी समेत दिएका थिए ।

प्रहरी प्रशासनले सर्वोच्च अदालतको सांसद पद खारेज गरिदिने फैसलाको पूर्णपाठ प्राप्त नभई सफलको उजुरी लिन अस्वीकार गरेको थियो ।

सफलको उजुरी लिन अस्वीकार गरेपछि सफलले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँमा प्रहरी प्रशासनविरुद्ध निवेदन दायर समेत गरेका थिए ।

सरकारी वकिल कार्यालयले तत्पश्चात् अध्यागमन विभाग, जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनलाई रवि लामिछानेको नागरिकता तथा राहदानीको विषयमा प्रश्न गर्दै पत्राचार गरेको थियो ।

अध्यागमनले लामिछानेले २०७२ जेठ १३ मा प्राप्त गरेको राहदानी प्रयोग गरी विदेश प्रस्थान गरेको नपाइएको जवाफ सरकारी वकिलको कार्यालयलाई दिएको छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालयको पत्रमा २०५१ साल फागुन १० गते लामिछानेले वंशजको नागरिकता प्राप्त गरेको र २०७९ माघ १५ गते नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा गरी नागरिकता लिइसकेको उल्लेख गर्दै सरकारी वकिलको कार्यालयलाई जवाफ दिएको थियो ।

प्रहरी प्रशासनले भने लामिछानेविरुद्ध राहदानीको विषयमा छानबिन भइरहेको नै जानकारी दिएपछि सरकारी वकिल कार्यालयले सफलको लामिछानेविरुद्धको उजुरी फेरि लिनुनपर्ने भन्दै विज्ञप्ति जारी गरेको थियो ।

हाल लामिछानेको राहदानी सम्बन्धी विषयमा प्रहरी प्रशासनमा अनुसन्धान जारी नै रहेको छ ।

उच्च स्रोतका अनुसार प्रहरी प्रशासनबाट यही महिनाभित्रै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी छ ।

प्रकाशित मिति: २३ फाल्गुन २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com