पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले एकै दिन पाँचवटा पुल उद्घाटन गरेका छन् । मुख्यमन्त्री अधिकारीले मादी गाउँपालिकामा पर्ने मकै खोला, इदी खोला, वार्दी खोला, घुम्ले खोला र पोखराको खुदी खोला पुल गरेर शनिबार एकै दिन पाँचवटा पुलको उद्घाटन गरेका हुन् ।

स्याङ्जाको गजिन्द्र निर्माण सेवा प्रालिले मादी–१० को मकैखोला पुल र मादी–४ र ११ जोड्ने इदी खोला पुल बनाएको हो । २५.६५ मिटर लम्बाइको मकैखोलाको पुल दुई करोड ३१ लाख रूपैयाँ र ३१.२० मिटर लम्बाइको इदी खोलाको पुल चार करोड २३ लाख रूपैयाँमा निर्माण सकिएको हो ।

advertisement

मादी–९ र १० जोड्ने ३६.२ मिटर लम्बाइको वार्दी खोला पुल नयाँबाटो–भदौरे–जीएस इन्जिनियरिङ जेभीले चार करोड ३९ लाख रूपैयाँमा बनाएको हो । त्यस्तै जय विष्णु–विवेक एण्ड कुवेर जेभीले तीन करोड ७१ लाख रूपैयाँमा पोखरा महानगरपालिका–३२ खुदी खोलामा पुल बनाएको हो । घुम्ले खोलाको पुल संघ सरकारअन्तर्गतको योजना हो ।

शनिबार मुख्यमन्त्री अधिकारी, कृषि, ऊर्जा तथा जलस्रोतमन्त्री बेदबहादुर गुरूङले उल्घाटन गरेको इदी, वार्दी, मकैखोला पुलको शिलान्यास २०७७ साल मंसिर १० गते गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले गरेका थिए ।
गाउँको जनसंख्या घट्ने तर सेवा सुविधा थपिएकोमा मुख्यमन्त्री अधिकारीले चिन्ता व्यक्त गरे । उनले शहरमा थोरै जमिन किनेर बस्नुभन्दा गाउँमा आफ्नो जमिनको सदपुयोग गर्नुपर्ने बताए ।

इदी र वार्दी खोला पुल राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत पर्छन् । मध्यपहाडी लोकमार्गको करिब १६ किलोमिटर क्षेत्र मादी गाउँपालिकामा पर्छ । हाल प्रदेश सरकारको कृषिमन्त्री रहेका बेदबहादुर गुरूङ मकै खोला, इदी खोला र वार्दी खोला पुलको २०७७ सालमा शिलान्यास हुँदा मादी गाउँपालिका अध्यक्ष थिए ।

ठूलो भूगोल भएकाले समस्या भए पनि लोकमार्गसँग जोडिएकाले मादी विकासको बाटोमा गएको उनले बताए । ‘अब मादी दुर्गम होइन । विकासोन्मुख दिशामा गएको छ,’ उनले भने।

कास्कीको मादी गाउँपालिकाका इदी, वार्दी, मकैखोला उर्लंदा बर्खामा सवारी आवतजातमा निकै सास्ती हुन्छ । गण्डकी प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय, कास्कीको वार्षिक बजेटमार्फत तीनवटै खोलामा पुल बनेसँगै स्थानीयलाई निकै सहज भएको छ ।

बर्खामा वारपार गर्नै सकस हुने खोलामा पुल बनेपछि स्थानीय खुसी छन् । ‘पहिला बर्खा लागेपछि वारपार गर्नै सक्थेनौं । वार्दीमा पुल बनेपछि सबैलाई राम्रो भएको छ,’ मादी–९ बासी सुर्जेकुमारी गुरूङले भनिन् ।

 

 

प्रकाशित मिति: २५ चैत्र २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com