काठमाडौँ । मन्त्री बन्न घुस मागेको अडिओ सार्वजनिक भएपछि निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद ढाकाकुमार श्रेष्ठले पार्टीलाई बदनाम गराउन खोजेको बताएका छन् । उनले केही महिना पहिलेको अडियो अहिले ल्याएर प्रचार गर्नु पार्टीमाथि प्रहार भएको बताए ।

पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बुधबार पत्रकार सम्मेलन गर्दै श्रेष्ठले अडियो अहिलेको नभएको बताएका हुन् । माघ १ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ माग गरेको भनिएको अडियो चैत २६ मा सार्वजनिक भएको थियो । सो सम्बन्धमा पार्टी केन्द्रीय समितिको बैठक बसिरहेको बेला श्रेष्ठले पत्रकार सम्मेलन गरेका हुन् ।

advertisement

तीन निर्वाचन क्षेत्रमा पार्टीलाई पराजित गर्नका लागि अहिले अडियो सार्वजनिक गरिएको श्रेष्ठको दाबी थियो । ‘यो अडियो केही पनि होइन, यो फसाइएको हो, सुनियोजित गरिएको हो । जनवरीमा भएको, लगभग जनवरी-फेब्रुअरीमा भएको अहिले ल्याएर हाल्नु भनेको सुनियोजित किसिमले पार्टीलाई चारतिरबाट हान्ने प्रहार गरेको हो,’ उनले भने, ‘यो पार्टीको तीनवटै निर्वाचन क्षेत्र हराउन खोजेको हो । सुनियोजित योजना हो ।’

श्रेष्ठले आफू पार्टीको सदस्यबाट पनि बाहिरिएको र न्यायिक प्रक्रियामा गइसकेको पनि बताए । उनले न्यायालयबाट क्लीनचिट ल्याएर आउने दाबी गरेका छन् । आफ्नो कारणले गर्दा उपनिर्वाचनमा पार्टीलाई असहज परिस्थिति बनेको भन्दै उनले क्षमा पनि मागेका छन् । ‘म न्यायालय गएर मेरा सम्पूर्ण कुराहरू न्यायालयमा प्रस्ट पारेर क्लिन चिट ल्याएर तपाईंहरूमाझ फेरि प्रेस मिट गर्नेछु । मेरा कारणले उपनिर्वाचनमा पार्टीलाई अप्ठ्यारो परेको छ । त्यसका लागि क्षमाप्रार्थी छु,’ उनले भने ।

प्रकाशित मिति: २९ चैत्र २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com