काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा रहेको बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताए ।
उनले संविधानसभामै उल्लेख भइसकेका र आत्मसाथ गरिसकेका कुरालाई अहिले तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको बताए । उनले परिवर्तनलाई विचलनमा लैजाने काम भइरहेको भन्दै सबै सजग रहन आग्रह गरे ।
उनले वर्तमान समयमा आफ्नो पार्टी नेकपा माओवादी केन्द्र सरकारमा रहेकाले परिवर्तन उल्टिँदैन जस्तो लागे पनि स्थिति सहज नरहेको जिकिर गरे । उनले जिम्मेवारी बोध गरी संघर्ष नगर्ने हो भने अफ्ठ्यारो स्थिति आउनसक्ने चेतावनी दिए । प्रधानमन्त्री दाहालले सरकारलाई जनमुखी बनाउने, जनताको आशा अनुसार काम गर्ने चुनौति रहेकाले योजनाहरूको कार्यान्वयन गर्दै जानुपर्ने बताए ।
प्रधानमन्त्री दाहालले आगामी दिनमा नेकपा माओवादी केन्द्रले नेताहरुको समर्थन लिएर नेतृत्व प्राप्त गर्ने प्रणाली बदल्नुपर्ने बताए । उनले नेतृत्वलाई दबाब दिएर नेतृत्व पाउने प्रणालीको अन्त्य नगरेसम्म पार्टी बन्न नसक्ने बताए । उनले पार्टी जनतामा नजानु भनेको नेताहरूको सहयोगमा नेतृत्व लिने प्रणाली हाबी हुनु रहेको बताए ।
प्रकाशित मिति: १ बैशाख २०८०, शुक्रबार












प्रतिक्रिया