काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई आफूले नै उपचार गर्न भारत जान सल्लाह दिएको बताएका छन्।
बुधबार तनहुँ–१मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिले नेपालमा उपचार गर्ने इच्छा राखे पनि आफूले नै भारतमा जान सल्लाह दिएको बताएका हुन्।
‘उहाँ अस्वस्थ हुनुभयो तर, गम्भीर होइन। हिजो मैले उहाँसँग कुरा गरेँ। मैले भारत जान सल्लाह दिएँ। उहाँले नेपालमा उपचार गर्न चाहनुभएको थियो। तर, मैले डाक्टरले जे भन्छन् त्यही गर्नु भनेको थिएँ त्यसपछि उहाँले मान्नुभयो,’ उनले भने।
राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आजै भारत लगिएको छ। बिहान श्री एयरको विमानमार्फत राष्ट्रपति पौडेललाई थप भारत लागिएको हो। पौडेलको नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस् (एम्स) मा उपचार सुरु भइसकेको जनाइएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।
प्रकाशित मिति: ६ बैशाख २०८०, बुधबार












प्रतिक्रिया