काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन्।

रास्वपा सभापति रवि लामिछानेसँग आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रचण्डले सरकारमा सहभागी हुन प्रस्ताव गरेका हुन्।

advertisement

जवाफमा रास्वपा सभापति लामिछानेले आफूहरू तत्काल सरकारमा आउने पक्षमा नरहेको बताएका थिए। यद्यपि, आफूहरूले पहिला लिएको मन्त्रालयबारे भने उनले जिज्ञासा राखेका थिए।

‘खास त मलाई प्रधानमन्त्रीले बधाई दिन बोलाउनुभएको हो। त्यसमा समसामयिक राजनीतिबारे कुराकानी त हुने नै भयो,’ आइतबार साँझ लामिछानेले ग्लोबल नागरिकसँग भने,‘उहाँले सरकारमा आएर सँगै काम गर्न पाए हुन्थ्यो भन्नुभयो। त्यस्तो सोच त हाम्रो छैन। पार्टी निर्माणमै बढी जोड लगाउने भन्ने छ भनेर मैले भनें।’

आफूहरू सरकारमा रहेका बेला जारी भएको न्यूनतम साझा कार्यक्रमका विषय हटाइएकोमा लामिछानेले चासो व्यक्त गरेका थिए। अहिलेसम्म सरकारले लिएको गति र मन्त्रिपरिषद्ले पूर्णता नपाएको विषयमा धेरै प्रश्न उठेको समेत उनले बताएका थिए।

‘हामीले सरकारमा जान चासो राखेका छैनौं। तपाईंले भनेपछि हामी छलफल गरौंला तर अलि समय हेर्छौं भनेर भनेको छु,’ उनले भने, ‘भर्खरै चुनावबाट आएका छौं, सरकारमा हाम्रो पोर्टफोलियो के हो त भनेर सोध्ने कुरा स्वभाविक भयो। हाम्रो पुरानो मन्त्रालय के हुन्छ? भनेर सोध्ने कुरा भइहाल्यो।’

रास्वपा सभापति लामिछानेको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले रास्वपाले पहिला पाएका मन्त्रालयबारे सल्लाह गरौंला भनेका थिए।

पुस ११ गते लामिछाने गृहमन्त्री बनेका थिए। त्यतिबेला रास्वपाका तर्फबाट गृहसहित ३ मन्त्री र १ जना राज्यमन्त्री बनेका थिए। रास्वपाका तर्फबाट लामिछानेसहित शिशिर खनाल शिक्षामन्त्री र डोलप्रसाद अर्याल श्रममन्त्री बनेका थिए। त्यस्तै तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेकी थिइन्।

नागरकिता प्रकरणमा माघ १३ गते लामिछानेको पद गएपछि माघ २२ गते रास्वपा सरकारबाट बाहिरिएको थियो। वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट लामिछाने चितवन क्षेत्र नं २ बाट फेरि विजयी भएका छन्।

रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि तनहुँ क्षेत्र नं १ मा भएको उपनिर्वाचनमा रास्वपाकातर्फबाट स्वर्णिम वाग्ले निर्वाचित भएसँगै रास्वपाका २१ सांसद छन्।

‘सरकारमा जाने विषयमा हाम्रो चासो एकदमै कम छ। लगभग छैन भन्दा पनि हुन्छ। राजनीतिमा नो भन्ने हुँदैन तर हाम्रो चासो सरकारमा जाने छैन,’ लामिछानेले भने।

 

प्रकाशित मिति: १७ बैशाख २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com