काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझीले आफू बिरामी परेको पत्र संसद सचिवालयलाई पठाएका छन्।

स्रोतका अनुसार रायमाझीले पठाएको पत्र संसद सचिवालयमा पुगेको छ।

advertisement

‘तर उहाँको पत्र दर्ता भने गरिएको छैन,’ सचिवालयका एक कर्मचारीले ग्लोबल नागरिकलाई भने।

आजै एमालेले रायमाझीलाई पार्टीको सचिव पदबाट निलम्बन गरेको छ।

महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति निकाल्दै रायमाझीलाई पार्टी सचिवबाट निलम्बन गरिएको जानकारी दिएका हुन्।

‘हामी विधिको शासनमा विश्वास गर्दछौं। राज्यका वैधानिक संस्थाहरूले गर्ने अनुसन्धानका काममा सबैले सहयोग गर्नुपर्छ र कसैका बारेमा कुनै विवाद उठेमा त्यसबारे कानुनी सफाइ प्राप्त गर्ने दायित्व सम्बन्धित व्यक्तिकै हो भन्ने हाम्रो पार्टीको स्थापित मान्यता रहँदै आएको छ,’ उनको विज्ञप्तिमा भनिएको छ,‘सोही मान्यता अनुरूप पक्राउ पूर्जी जारी हुनासाथ उहाँलाई राज्यका अनुसन्धान निकायमा उपस्थित भएर विधिवत् रूपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएको थियो। उहाँले नेतृत्वलाई यस विषयमा सहमति पनि जनाउनु भएको थियो। तर पार्टी नेतृत्वलाई दिएको विश्वास विपरीत उहाँ सम्बन्धित निकायमा उपस्थित नभएको विषयलाई हिजो बसेको केन्द्रीय सचिवालयको बैठकले गम्भीरतापूर्वक लिँदै उहाँलाई अविलम्ब सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको थियो।’

केन्द्रीय सचिवालयको उक्त निर्णयलाई समेत ध्यानमा राख्दै राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई यस सम्बन्धी अनुसन्धान र कानुनी कार्बाहीको प्रक्रियाको अन्तिम टुङ्गो नलागेसम्म पदबाट निलम्बन गरिएको उनले उल्लेख गरेका छन्।

अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका हुन्।

 

प्रकाशित मिति: २७ बैशाख २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com