काठमाडौं । खडेरी बढ्दै गएपछि धरानमा पछिल्लो केही समय पानीको व्यापक अभाव छ । धराने खानेपानीमा योगदान गर्ने अक्सर साना स्रोतहरू सुकेपछि पानीको हाहाकारै मच्चिएको छ यहाँ । पानीको हाहाकारमा खानेपानी ट्याङ्करहरूको खपत अहिले बढेको छ । धराने सडकहरूमा पानी बोकेर ओहोरदोहोर गरेको प्रशस्तै ट्याङ्करहरू देखिन्छन् । ट्याङ्करबाट किन्न सक्नेले त किन्छन् । किन्न नसक्नेहरूको आस भने नियमित धाराको नल नै हो ।

तर, स्रोतमै पानीको अभावले खानेपानीको नलमा पानी आएको छैन । नलमा खानेपानी नआएका स्थानीयहरूको हुल उपमहानगर पुगेर मेयर हर्क साम्पाङलाई गुनासो गर्थे । साम्पाङले पनि सबैको गुनासो सुन्थे । अनि भन्थे, ‘प्रकृति रिसाएको छ । अस्ति श्रमदानबाट पानी ल्याएका स्रोतहरू पनि सुके । कोशीको पानी नल्याई धरानको खानेपानी समस्या हल हुँदैन ।’

advertisement

समूहका समूह धराने जनता पानीको समस्या लिएर निरन्तर आउन थालेपछि साम्पाङले गत शुक्रबार एउटा समूहलाई भने, ‘पानी नलिई अब फर्किन्नँ ।’ धरानमा पानी नलिई फर्किन्नँ भने साम्पाङ श्रम अभियान चल्दै गरेको कोकाहा खानेपानी परियोजनातिर हानिएका थिए । शुक्रबारको कार्यालय सकेर हिँडेका साम्पाङ शनिबार, आइतबार र सोमबार श्रम अभियानमै खटिए । जहाँ दिन सकिन्छ त्यही बसे ।

मंगलबार राति १२ बजेर ३ मिनेटमा त्यही श्रम अभियान अन्तर्गतको कोकाहको पानी धरानको पकुवा खोलामा आइपुग्यो । करिब ४३ किलोमिटर पाइपको दूरी पार गरेर पकुवामा कोकाहाको पानी खसाइएको थियो । पाइपको हावा चेक गर्दै आएको टोलीले पकुवामा पानी खसालेको थियो । श्रम अभियानमा रहेका साम्पाङ पनि फिल्डमै थिए उति बेला ।

पकुवामा खानेपानी आइपुगेपछि राति नै साम्पाङ पकुवामा देखिए । कोकाहाको पानी पकुवा खोलामा खस्न थालेपछि आइपुगेका साम्पाङ पानी देख्नेबित्तिकै भावविह्वल भए । एक्कासि साम्पाङका आँखा रसाए । त्यत्तिकैमा पाइपबाट खस्दै गरेको पानीले मुख धोए । टाउकोमा पानी थापी रहे ।

लामो सङ्घर्षपछिको उपलब्धि देखेर साम्पाङ एक छिन टोलाइरहे । हेरिरहे पाइपबाट खसेको कोकाहाको पानी ।उपस्थित सबैलाई धन्यवाद दिएका थिए, साम्पाङले । अरुबेला लामै बोल्ने साम्पाङ मङ्गलबारको मध्यरात भावविह्वल भएकाले कमै बोले । त्यतिन्जेल पकुवामा आएका धेरै जना आआफ्नो घर तिर लागे । साम्पाङ भने केही सहयोगीसहित पकुवामै टोलाएर बसिरहे ।

शुक्रबारदेखि घर नपुगेका भनिएका साम्पाङ अबेरपछि भने धरानस्थित आफ्नो घर लागेका थिए । खानेपानी राजनीतिबाट धरानको मेयर निर्वाचित भएका साम्पाङ धरानको खानेपानी सङ्कट समाधानमा निरन्तर प्रयासमा देखिन्छन् । कोकाहा खोलाबाट खानेपानी ल्याउन गत फागुन २३ देखि श्रमदान निरन्तर छ । करिब ४५ किलोमिटर मध्ये ४० किलोमिटर पाइप बिच्छ्याएर मंगलबार पकुवासम्म खानेपानी आइपुगेको छ । अबको केही हप्ताभित्र कोकाहाको पानी वितरण ट्याङ्कीमा हाल्ने योजना साम्पाङको छ ।

धरानको वडा नम्बर २० स्थित हात्तीसार भन्ने ठाउँबाट कोकाहाको पानीलाई पाइपमार्फत बराहक्षेत्र हुँदै ल्याइएको हो । यो अभियानको लागि देशविदेशबाट ४ करोड बढी आर्थिक तथा पाइप, खाद्यान्नलगायत सहयोग भएको थियो । राजनीतिक दल, दलका नेताहरू एवं मेयर साम्पाङका आलोचकहरूले निरन्तर आलोचना गरिरहे पनि श्रमदान अभियानबाट नै कोकाहाको पानी ल्याउन मेयर साम्पाङ सफल भएका हुन् ।

प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com