काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नि एवम् सांसद आरजु राणाले स्वतन्त्र सांसद अमरेश कुमार सिंहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गरेको खुलेको छ।उनले विदेश भ्रमणमा निस्कनुअघि सांसद सिंह विरुद्ध मुद्दा दर्ता गराएकी हुन्।

राणाले गत जेठ २४ गते जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दर्ता गरेको जनाईएको छ। मुद्दाको सुनुवाई असार २४ गते तोकिएको छ। अदालतले सांसद अमरेशलाई सुनुवाईका लागि बोलाएको छ ।

advertisement

आफूलाई प्रतिनिधि सभामा गणतन्त्रकी पम्फादेवी भनेको तथा विभिन्न सञ्चारमाध्यममा समेत भ्रष्टाचारी भनेर दिएको अन्तर्वार्ताका क्लिपसमेत राणाले संलग्न गरेर मानहानीको मुद्दा दायर गरेको अदालत श्रोतले जनाएको छ।

उनले सिंहमाथि हदैसम्मको कारबाही र आफूलाई क्षतिपूर्ति माग गरेकी छन् । पूर्व कांग्रेस नेतासमेत रहेका सांसद् अमरेशले गत वैशाख १३ गतेको प्रतिनिधि सभाको वैठकमा आरजुलाई पम्फादेवीको संज्ञा दिएका थिए।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको सार्वजनिक महत्वको वक्तव्यमाथि प्रश्न गर्दै उनले ‘गणतन्त्रका पम्फादेवी’ हरुलाई लगाम लगाउन जरुरी रहेको वताएका थिए। ‘०४५÷४६ सालमा पञ्चायत ढल्ने बेलामा पम्फादेवीको नाम चर्चित थियो, भ्रष्टाचारको नाममा। अहिले गणतन्त्रको पम्फादेवीले भ्रष्टाचार गरेर आक्रान्त पारेको छ। गणतन्त्र जाने अवस्थामा छ,’ उनले भनेका थिए, ‘पम्फादेवीहरुलाई कसरी लगाम लगाउने? जति ठूला भ्रष्टाचार भएको छ, त्यो सबैमा पम्फादेवीहरुको संलग्नता हुन्छ। त्यसकारणले गणतन्त्रको पम्फादेवी माथि सरकारले कदम चाल्छ? भ्रष्टाचारलाई कसरी खत्तम पार्छ?’

अमरेशले नाम नलिई राणालाई पम्फादेवीको संज्ञा दिएका थिए। तर, उनले विभिन्न मिडियामा दिएको अन्तर्वार्तामा भने आफूले भनको पम्फादेवी डा आरजु राणा भएको खुलाएका छन्।
पञ्चायतकी पम्फादेवी भनेर उनले तत्कालीन रानी ऐश्वर्या शाहलाई भनेका हुन्। त्यो बेला उनलाई पम्फादेवी ठकुरी भनिन्थ्यो। राजाको शासनकालमा रानीले भ्रष्टाचार गरिन् भनेर भन्न र लेख्न सक्ने अवस्था थिएन। त्यसकारण त्यो बेला ‘पम्फादेवी ठकुरी भ्रष्टाचारमा संलग्न’ भनेर प्रचार गरिन्थ्यो।
रानी ऐश्वर्याले देशमा भ्रष्टाचार गरी आर्जन गरेको सम्पत्ति स्विस बैंकमा ‘पम्फादेवी ठकुरी’को नाममा राखेको आरोप लागेको थियो।

प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com