चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् चितवन क्षेत्र नं. २ का सांसद रवि लामिछानले महिलाहरूका लागि निःशुल्क सन्चालन गरेको बसको रंग अनुमति नलिई परिवर्तन गरेको पाइएको छ।
सन् २०१४ मा बनेको ना ५ ख ३१३८ नम्बरको भाडाको बसलाई निलो रंगको बनाइएको छ । यो बसले अहिले ‘ब्लु बस’को नाममा चर्चा पाइरहेको छ ।
तर, बसको रंग परिर्वतन गर्दा अनुमति नलिइएको यातायात व्यवस्था कार्यालय भरतपुरले जनाएको छ । यातायात व्यवस्था कार्यालय वीरगञ्जमार्फत सूचना लिएर कार्यालयले बसको रंग परिवर्तनको अनुमति अहिलेसम्म लिएको नपाइएको कार्यालयका सूचना अधिकारी गोविन्द प्रसाद पौडेलले जानकारी दिए ।
सरकारले सवारीसाधनको रंग परिवर्तन गर्दा अनुमति लिएर प्राविधिकहरुलाई देखाउनुपर्ने व्यवस्था गरेको छ । सवारीको ब्लु बुकको अन्तिममा रहेको सवारी चालकले ध्यान दिनुपर्ने कुराहरुको बुँदा नं. ५ मा समेत अनुमति नलिई रंग परिवर्तन गर्न नहुने उल्लेख छ । ब्लु बुकमा नै गाडीको रंग कस्तो हो भनेर उल्लेख हुने कार्यालयका सूचना अधिकारी पौडेलले बताए ।
यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को दफा ११.१ (४) को हेरफेर दर्ता गर्दा अवलम्बन गर्नुपर्ने प्रक्रिया सम्वन्धी व्यवस्थाको उपदफा १० मा कुनै सवारीको किसिम, इन्जिन, च्यासिस, रंग सिट, बडी निर्माण वा अन्य विवरण हेरफेर गर्न विभागबाट स्वीकृति प्राप्त वर्कसपबाट मात्र गर्ने गरी स्वीकृति लिनुपर्ने उल्लेख गरिएको छ । सोही नियमावलीमा सवारीमा कुनै हेरफेर गर्न तोकिएको ढाँचाको फर्म भरेर निवेदन दिएपछि प्राविधिकहरूले आवश्यक जाँच गरेर मात्रै अनुमति दिने भनिएको छ ।
यातायात व्यवस्था कार्यालय भरतपुरका सूचना अधिकारी पौडेलका अनुसार अहिलेसम्म रंग परिवर्तनका लागि अनुमति नलिएको हुँदा अब नियमानुसार जरिवाना तिरेर अनुमति लिने र जाँचपास गराउनुपर्ने बताए ।
प्रकाशित मिति: २१ श्रावण २०८०, आइतबार













प्रतिक्रिया