काठमाडौँ । शीर्ष तहकै केही नेताहरूको गतिविधिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र अविश्वासको अवस्था देखिएको छ।
असार २९ र साउन २७ मा लगातार राप्रपाका संस्थापक अध्यक्ष लोकेन्द्र बहादुर चन्दको निवास तथा अन्य स्थानमा पनि छुट्टाछुट्टै बैठक हुन थालेपछि पार्टीभित्र अविश्वासको अवस्था देखिएको हो।
पार्टी अध्यक्षलाई ‘नोटिस’ नगराई भएको यस्ता छलफलले अविश्वासको वातावरण पैदा हुने संस्थापनको भनाइ छ । यस्तै छुट्टै छलफलमा सहभागी नेताहरू भने राप्रपालाई जनता माझ मजबुत रूपमा स्थापित गराउने सन्दर्भमा भएको बैठकलाई अन्यथा लिन नहुने बताउँछन् ।
पटक–पटक फुट्दै र जुट्दै आएको राप्रपामा पछिल्लो समय देखिएको गतिविधिले सो पार्टीभित्र फेरि तरङ्ग ल्याएको छ । असार २९ मा राप्रपाका निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीसहितका नेताहरू चन्द निवास लोकन्थलीमा छलफलका लागि पुगेका थिए ।
सो छलफलमा लोहनीसहित राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, राप्रपा वरिष्ठ नेता एवं अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी, वरिष्ठ नेता हरिबहादुर बस्नेतलगायतका नेता समेत सहभागी थिए ।
यस्तै नेता दीपक बोहरा, धवल शमशेर जबरा, राजेन्द्र गुरुङलगायतका नेताहरूसमेत थपिएको उक्त छलफलमा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सञ्चालनका सन्दर्भमा अपनाएका तौरतरिकाबारे आलोचना भएको थियो । केही नेताले अध्यक्ष लिङ्देनले विधि विधानअनुसार पार्टी सञ्चालन नगरेको भन्दै असन्तुष्टि समेत पोखेका थिए ।
प्रकाशित मिति: २९ श्रावण २०८०, सोमबार












प्रतिक्रिया