काठमाडौं । नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसी (सन्देश)ले पार्टीका महासचिव देव गुरुङमाथि भूकम्प प्रभावितको राहतमा भ्रष्टाचार गरेको आरोप लगाएका छन् । भुकम्प प्रभावितका लागि चिनिया कम्युनिस्ट पार्टीले पठाएको राहत सामग्रीमा महासचिव गुरुङले आफ्ना नातेदारसँग मिलेर भ्रष्टाचार गरेको केसीको आरोप छ ।

राहत वितरणको नेतृत्व गरेर रुकुम पश्चिम र जाजरकोट पुगेकी चिनियाँ महिलामाथि हातपात गरेको भन्दै पार्टीले केसीमाथि स्पष्टीकरण सोध्दै कारबाही प्रक्रिया अघि बढाएपछि पार्टीले सोधेको स्पष्टीकरणमा जवाफ दिँदै केसीले महासचिव गुरुङ आफ्ना नातेदार मुक्ति मरासिनीसँग मिलेर भ्रष्टाचारको हिस्सेदार रहेको भन्दै छानबिनका लागि पार्टी र सरकारलाई आग्रह गरेका छन् ।

advertisement
  • गोरखबहादुर केसी

पार्टीको पुस २८ गतेको स्थायी समिति बैठकले वैकल्पिक केन्द्रीय सदस्य केसीलाई स्पष्टीकरण सोध्दै कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । केसीले ६ पृष्ठको स्पष्टीकरण दिँदै महासचिवमाथि भ्रष्टाचारको गम्भीर आरोप लगाउँदै अनुसन्धानको माग गरेका हुन् ।

‘ग्लोबल कर्पोरेसन फर डेभलभमेन्टका कन्ट्री डाइरेक्टर मुक्ति मरासिनी देव गुरुङको सहोदर भदैनीको श्रीमान् हुन र यी एकाघरका नातेदार तथा देव गुरुङलेनै भनसुन गरी चिनियाँहरूको प्रोजेक्ट मरासिनीको संस्थालाई दिलाएको तथा यसको भ्रष्टाचारबाट हुने आम्दानीमा यी दुवै हिस्सेदार रहेको बारेमा पार्टी र सरकारले गम्भीरतापूर्वक छानबिन गरोस्, केसीले दिएको स्पष्टीकरणमा उल्लेख छ ।’

आफूले राहत वितरणमा अनियमितता भएको कुरा उठाएपछि आफूमाथि प्रहार भएको उनको आरोप छ । ‘एक परिवारलाई ४० हजारका दरले सामान दिने भनिएको थियो, पछि देव गुरुङलेनै रुकुम पश्चिम पुगेर प्रति परिवार २३ हजार हाराहारीको राहत छ भन्नुभएको थियो, तर तल वितरण गरिएको सामान हेर्दा १० हजारको पनि देखिन्न, माधव नेपालले रुकुम पश्चिम पुगेर राहतमा सोलारसमेत रहेको भन्नुभएको थियो त्यो पनि दिइएको छैन, ७५ प्रतिशत ठुला र बाँकी रहेको २५ प्रतिशत पनि तलकाले खाएका छन्, आठबिसकोटमा भूकम्प प्रभावितले केही पनि पाएनन्, यही विषयमा प्रश्न गर्दा मलाई कारबाही गर्न खोजियो उनले भनेका छन ।’

नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसी पनि आफूविरुद्ध लागेको केसीको आरोप छ । आठबिसकोट नगरपालिकाका लागि भनिएको दुई सय पिस राहत प्याकेज अध्यक्ष केसीले लुटेर सानीभेरीमा लिएको केसीले आरोप लगाएका छन ।

आफूले राहत प्याकेजको गुणस्तरीयता र मात्रामा प्रश्न उठाएपछि चिनियाँ महिलासँग जाजरकोटको रिम्नामा रहेको आफ्नो घरमा सामान्य विवाद भएको र पछि उक्त महिलाले नै आफूमाथि दुर्व्यवहार गर्न खोजेपछि घटना घटेको स्पष्ट पारेका छन् ।

चिनिया महिलाले यस्ता मान्छेलाई किन भोट हालेको ? अबदेखि यसलाई भोट नहाल्नु भनेपछि आफ्नो संस्थामा काम गर्ने मान्छेले एक थप्पड हानेको र थप्पड प्रहार भएपछि मात्र आफूले थाहा पाएको भन्दै यसमा आफ्नो कुनै निर्देशन नरहेको केसीले स्पष्टीकरण  दिएका छन् ।

  • नयाँ पत्रीकादैनिकमा समाचार छ।

प्रकाशित मिति: ६ माघ २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com