रासस । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं-३ र चौतारा साँगाचोकगढी नगरपालिका-११ ले बाँदरबाट बालीनाली जोगाउन रुख र झाडी काट्ने निर्णय गरेको छ।

त्रिपुरासुन्दरी गाउँपालिका वडा नं-३ का वडाध्यक्ष शिवकुमार कार्कीले एक सूचना जारी गरी फागुन महिनाभित्र रुख काट्न र झाडी सुधार गर्न आह्वान गरेका हुन्।

advertisement

उनले यो काममा सहयोग पुर्‍याउन सबै टोल विकास समिति, वन उपभोक्ता समिति, जनप्रतिनिधि र समाजसेवीलाई अनुरोधसमेत गरेका छन्।

यसअघि चौतारा साँगाचोकगढी नगरपालिका–११ ले पनि बाँदरको आतङ्क नियन्त्रण गरेर बालीनाली जोगाउन खेतबारीका रुख कटान गर्ने अभियान चलाएको छ।

बाँदरलगायत वन्यजन्तु धपाउन प्रहरी परिचालन गर्दासमेत केही सीप नलागेपछि बाध्य भएर रुख कटान गर्ने अभियान चलाइएको वडाध्यक्ष रोशनराज गिरी बताउँछन्।

गाउँमा युवा नभएका र वृद्ध वृद्धा, महिला र बालबालिकाले सबै फँडानीको काम गर्न नसक्ने गुनासो वडा कार्यालयमा आएकाले वडा कार्यालयले नै रुख काट्ने र झाडी फाँड्ने निधो गरेको उनको भनाइ छ।

यसअघि पनि वडा कार्यालयले बाँदरबाट बालीनाली जोगाउन ठाउँ ठाउँमा जाल राखेको थियो। बँदेलबाट मकैलगायत बाली जोगाउन विद्युतीय तारबारसमेत लगाएको वडाध्यक्ष गिरीको भनाइ छ।

प्रकाशित मिति: २५ माघ २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com