काठमाडौं । रुसको मस्कोमा एउटा कन्सर्ट भइरहेको ठाउँमा बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा ६० जना मारिएको र १०० भन्दा बढी घाइते भएको बिबिसीले जनाएको छ।

इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको उक्त आक्रमणलाई अधिकारीहरूले आतङ्कवादी हमला भनिरहेका छन्। सामाजिक सञ्जालमा राखिएका भिडिओमा सैन्य पोसाक लगाएका कम्तीमा चार जना व्यक्तिहरूले क्रास्नोगोर्स्कमा रहेको क्रोकुस सिटी हलको लबीमा प्रवेश गर्ने क्रममा गोली चलाइरहेको देख्न सकिन्छ।

advertisement

अमेरिकी अधिकारीहरूले आफ्नो गुप्तचरी सूचना इस्लामिक स्टेटको दाबीसँग मेल खाएको जनाएको छ। दुई हप्ताअघि अमेरिकी राजदूतावासले उग्रवादीहरूले आक्रमणको योजना बुनिरहेको भन्दै मस्कोमा रहेका आफ्ना नागरिकहरूलाई भिडभाड हुने ठाउँमा नजान भनेको थियो।

रुस र युक्रेनबीच लडाइँ चलिरहेको समयमा भएको यो गोली काण्डमा आफू संलग्न नरहेको किएभले बताएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त हमलाबारे प्रत्यक्ष सम्बोधन गरिसकेका छैनन् तर सरकारी सञ्चारमाध्यमहरूले उनले घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेको उल्लेख गरेको छ।

रुसको न्याश्नल गार्डले आक्रमणकारीहरूको खोजी गरिरहेको विवरण आएका छन्

संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले उक्त आक्रमणलाई ‘अक्षम्य र लाछी आतङ्कवादी हमला’ भन्दै आतङ्कवाद अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि सबैभन्दा ठूलो चुनौती रहेको जनाएको छ।

रुसी विदेश मन्त्रालयले उक्त ‘बर्बर आक्रमण’ लाई निन्दा गर्न त्यसअघि विश्वलाई अपिल गरेको थियो।

अमेरिकामा ह्वाइट हाउसका प्रवक्ताले पनि गोलीकान्डका पीडितहरूप्रति आफ्नो सहानुभूति रहेको जनाएको छ।

 

प्रकाशित मिति: १० चैत्र २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com