काठमाडौं – गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा कुनै मानव अधिकार उल्लङ्घन नभएको दाबी गरेका छन्।

बुधबार बिहान रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले शान्ति सुव्यवस्थाको संवेदनशीलतालाई ध्यानमा राखेर राति अड्डा सारिएको स्पष्ट पारे।

advertisement

उनले भने, “रविजीलाई चितवनबाट पोखरा लैजाने क्रममा मानव अधिकार उल्लङ्घन भएको भन्ने कुरा उठाइएको छ। प्रमुख प्रतिपक्षी दलका नेता, हाम्रा पार्टीका नेताहरूले पनि यसबारे टिप्पणी गर्नुभयो। तर, उहाँको कुनै मानव अधिकार उल्लङ्घन भएको छैन। उहाँमाथि कुनै ज्यादतीपूर्ण, गैरकानुनी वा अमर्यादित व्यवहार गरिएको छैन। यो कदम शान्ति सुरक्षाका लागि थियो, जसको फाइदा स्वयं लामिछानेजीलाई पनि छ।”

गृहमन्त्री लेखकले आपराधिक क्रियाकलापका सम्बन्धमा अनुसन्धान आवश्यक रहेको भन्दै सहकारीमा ठगिएकाहरूको मानव अधिकारको समेत ख्याल गर्नुपर्ने बताए। उनले भने, “सहकारीमा अर्बौं रुपैयाँ ठगी भएको छ। धेरैजसो गरिब जनताका सन्तानका लागि बचत गरिएको पैसा दुरुपयोग गरिएको छ। तिनको मानव अधिकारको रक्षा गर्ने जिम्मेवारी राज्यको होइन?”

उनले अनुसन्धान भिडको निर्देशनमा नभई कानुनी प्रक्रियाअनुसार अघि बढ्ने बताए। “कहिले प्रहरी कार्यालय, कहिले सरकारी वकिल कार्यालय, कहिले अदालत घेर्ने प्रयास हुँदै आएको छ। यसरी भिडले न्याय दिन सक्छ? यदि भिडले न्याय दिने हो भने प्रहरी र सरकारी वकिल किन चाहियो?” उनले प्रश्न गरे।

गृहमन्त्री लेखकले लामिछानेलाई राति पोखरा लैजाँदा शान्ति सुरक्षा कायम राख्नुपरेको स्पष्ट गरे। “सडक आन्दोलनबाट न्याय प्रभावित गर्ने प्रयास भएकाले शान्ति सुरक्षा सुनिश्चित गर्न यस्तो कदम चालिएको हो। काठमाडौंबाट पोखरा लैजाँदा मानव अधिकार उल्लङ्घन हुँदैन भने चितवनबाट पोखरा लैजाँदा किन उल्लङ्घन भयो?” उनले भने।

उनले यस विषयमा अनावश्यक हल्ला नगरिदिन आग्रह गर्दै कानुनी प्रक्रियालाई सम्मान गर्न सबै पक्षसँग अनुरोध गरे।

 

प्रकाशित मिति: ३ पुस २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com