काठमाडौं – १३ वर्षीय बालगायक सचिन परियारको बिहीबार बिहान निधन भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा बिहान १०:४५ बजे उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

सचिनले बाल्यकालमै धेरै चर्चित गीत गाएका थिए र केही म्युजिक भिडियोमा पनि अभिनय गरेका थिए। उनले कमला घिमिरे, करुणा राई र गोविन्द पौडेलको स्वर रहेको ‘वरको छायाँले’ बोलको गीतमा अभिनेता राजेश हमालसँग अभिनय गरेका थिए। यस्तै, ‘ओठ खोलेर’ बोलको गीतमा सचिनको स्वर र अभिनय रहेको म्युजिक भिडियोले झन्डै २ करोड भ्युज पाएको छ। अस्मिता अधिकारीसँग उनले गाएको ‘के छ र हजुर’ बोलको गीत पनि लोकप्रिय भएको थियो।

advertisement

पछिल्लो केही वर्षदेखि सचिनको स्वास्थ्य अवस्थाबारे सामाजिक सञ्जालमा चर्चा भइरहेको थियो। उनका बुबा तेजेन्द्र परियारले सचिन बिरामी रहेको र उपचार जारी रहेको जानकारी समय-समयमा दिएका थिए।

चिकित्सकका अनुसार सचिनको मस्तिष्कमा पानी जम्ने समस्या (हाइड्रोसेफालस) थियो। साथै, उनलाई दुर्लभ रोग डाइबिटिज इन्सिपिडस पनि भएको थियो, जसले शरीरमा अत्यधिक मात्रामा पिसाब उत्पादन गराउँछ। करिब ६ महिना अघि टिचिङ अस्पतालमा शल्यक्रिया गरेर मस्तिष्कमा जमेको पानी निकाल्न पाइप राखिएको थियो।

तर, पछिल्लो समयमा उनलाई संक्रमणको समस्या देखिएको थियो। अस्पताल भर्ना हुँदा उनी सेप्टिक सकको अवस्थामा थिए, जसका कारण उपचारका क्रममा उनको निधन भएको चिकित्सकले जानकारी दिएका छन्।

 

प्रकाशित मिति: १८ पुस २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com