काठमाडौं । काठमाडौं महानगरपालिकाले ठमेलमा आयोजना गर्न प्रस्ताव गरिएको ‘स्प्रिङ फेस्टिबल’ कार्यक्रमका लागि चिनियाँ दूतावासलाई अनुमति नदिने निर्णय गरेको छ।
चिनियाँ दूतावासका डेप्युटी चिफ अफ मिसन वाङ सिनले जनवरी २६ देखि फेब्रुअरी २५ सम्म ‘स्प्रिङ फेस्टिबल’ आयोजना गर्न महानगरलाई पत्र पठाएका थिए। तर, महानगरले बुधबार पत्रमार्फत ठमेल क्षेत्रमा यस्तो कार्यक्रम गर्न अनुमति दिन नसकिने जानकारी गराएको हो।
मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहका अनुसार ट्राफिक व्यवस्थापनमा चुनौती आउने भएकाले ठमेलमा कार्यक्रम गर्न अनुमति अस्वीकार गरिएको हो।
“ठमेलमा ट्राफिक व्यवस्थापन कठिन हुने भएकाले चक्रपथ क्षेत्रको कलंकीदेखि महाराजगञ्जसम्म कार्यक्रम गर्न सुझाव दिइएको छ,” शाहले बताए।
यसबाहेक, मेयर बालेन शाहले चक्रपथ क्षेत्रको सडक विस्तारमा चिनियाँ कम्पनीले गरेको ढिलासुस्तीका कारण स्थानीयहरूले भोगिरहेको समस्याप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन्।
प्रकाशित मिति: १० माघ २०८१, बिहिबार












प्रतिक्रिया