काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनीता कठायतको आक्रोशपूर्ण अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले दिएको अभिव्यक्तिले व्यापक चर्चा पाएको हो।
बैठकमा डढेलो प्रकोपको क्षति न्यूनीकरणका लागि भइरहेका सरकारी प्रयासहरूबारे छलफल गर्नुपर्ने थियो। तर, सांसद कठायतले समितिका केही सदस्यहरूलाई अनुगमनको नाममा गैरसरकारी संस्थाको पैसामा रक्सी खाएर अनावश्यक कुरा गरेको भन्दै कडा प्रश्न गरिन्।
उनले भनिन्, ‘एनजिओको पैसामा अनुगमनमा गएर रक्सी खाएर हाम्रो पार्टीका नेताहरूको व्यक्तिगत जीवनमा टिप्पणी गर्न पाइन्छ ? रवि लामिछानेको कोसँग विवाह भयो, सुमना श्रेष्ठको व्यक्तिगत जीवन कति पटकको बिहेमा जोडिएको भन्ने कुरा यहाँको चासोको विषय हुन्छ ?’
पोखराको अनुगमनप्रति असन्तोष
एक साताअघि समितिका सदस्यहरूले गुठी जग्गाको स्थलगत अनुगमनका लागि पोखरा भ्रमण गरेका थिए। सांसद कठायतका अनुसार, अनुगमनको उद्देश्यभन्दा बाहिर गएर समितिका सदस्यहरूले रास्वपाका नेताहरूका व्यक्तिगत विषयमा अनावश्यक टिप्पणी गरेका थिए।
‘तपाईँहरूले समितिमा मर्यादा राख्नुपर्ने ठाउँमा, त्यहाँ रक्सी खाएर मेरो पार्टीका नेताहरूलाई होच्याउने काम गर्नुहुन्छ। यस्तो अनुगमनको नाममा गरिएका गतिविधि कसरी जायज मान्न सकिन्छ?’ उनले आक्रोश पोखिन्।
समितिमा मर्यादा तोडेको आरोप
बैठकमा सांसद कठायतले समितिका केही सदस्यहरूले मर्यादा तोडेको उल्लेख गर्दै सभापतिलाई समेत प्रश्न गरिन्। ‘सभापतिज्यू, तपाईँ आफैँ त्यहाँ हुनुहुन्थ्यो। त्यहाँ के-के कुरा भयो, सबै मेरो जानकारीमा छ। तपाईँहरूको बोली र गतिविधिमा मर्यादा खोज्नुपर्ने अवस्था आयो।’
उनले थपिन्, ‘यो समितिको अनुगमनमा भएको कुरा समितिमै उठाउनु मेरो अधिकार हो। तर, तपाईँहरू मलाई पेल्न खोज्दै हुनुहुन्छ। यस्तो व्यवहारले समितिको गरिमा कहाँ रहन्छ ?’
सांसद कठायतको चेतावनी
सांसद कठायतले अनुगमनका क्रममा भएको सबै गतिविधिको जानकारी आफूले सुरक्षित राखेको बताउँदै समितिका सदस्यहरूलाई आफ्नो दायित्व बुझ्न आग्रह गरिन्। ‘तपाईँहरूले एनजिओको पैसामा गएर अनुगमनको नाममा व्यक्तिगत विषयमा कुरा गर्नुभएको छ। यो कुरा समितिमा उठाउनु मेरो दायित्व हो। मर्यादा तोड्नेहरूलाई यसबारे जबाफदेही बनाइनुपर्छ।’
सांसद कठायतको आक्रोशको कारण
पोखराको अनुगमनका क्रममा रास्वपा पार्टीका सभापति रवि लामिछाने, सांसद सुमना श्रेष्ठ र सोबिता गौतमको व्यक्तिगत जीवनमा अनावश्यक टिप्पणी भएको आरोप लगाउँदै उनले भनिन्,’रास्वपा पार्टीका नेताहरूको व्यक्तिगत विषयमा यति धेरै चासो किन राखिन्छ ? यो समितिको उद्देश्यसँग के सम्बन्ध छ ?’
उनले थपिन्, ‘लोकतन्त्रमा मर्यादा सबैले पालन गर्नुपर्छ। यस्तो गैर जिम्मेवार गतिविधिले समितिको उद्देश्य र विश्वसनीयता दुवै गुम्न सक्छ।’
सांसद विनीता कठायतको यो अभिव्यक्तिले समितिको आन्तरिक व्यवस्थापन र अनुगमन प्रक्रियामा सुधार आवश्यक रहेको सन्देश दिएको छ। एनजिओको सहयोगमा गरिएका अनुगमनहरू पारदर्शी, मर्यादित, र उद्देश्यपूर्ण बनाउन समितिले कडा कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।
प्रकाशित मिति: ११ माघ २०८१, शुक्रबार












प्रतिक्रिया