काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध प्रदर्शनका क्रममा भएको झडपमा चार जना प्रदर्शनकारी घाइते भएका छन् ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा चार जना प्रदर्शनकारी घाइते भएका छन् भने झडपमा परेर प्रहरी पनि घाइते भएका छन् । गोली लागेका तीन जनाको अवस्था गम्भीर रहेको छ ।

advertisement

केबलकार निर्माणको विरोधमा रहेको ‘नो केबलकार समूह’ले आज आइतबारबाट आन्दोलन गर्ने तयारी गरेको थियो । आन्दोलनलाई रोक्न भन्दै शनिबार नै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको थियो ।

शनिबार बेलुका करिब ६ बजे पाथिभरा क्षेत्रको बलुडाडामा प्रहरी पुगेपछि आन्दोलनकारीले ढुंगामुडा गरेका थिए । त्यसपछि प्रहरीले गोली चलाएको थियो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी रवि रावलका अनुसार झडपमा चार जना आन्दोलनकारी घाइते भएका छन् । प्रहरीसँगको झडपमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मंगल लावती घाइते भएका हुन् । यामबहादुर, धर्मान र सगुन लावतीलाई प्रहरीले चलाएको गोली लागेको थियो । उनीहरुको अवस्था गम्भीर छ । तीन जना घाइतेको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नोवेल मेडिकल कलेज विराटनगरमा पठाइएको डिएसपी रावलले बताए । मंगल लावतीको अवस्था सामान्य छ ।

डिएसपी रावलका अनुसार नेपाल प्रहरी तर्फ १२ जना घाइते भएका छन् । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आन्दोलनरत पक्षले बलुडाडाबाट गुलेली र ढुंगा प्रहार गरेपछि सुरक्षाकर्मीले गोली चलाएको दाबी गरे ।

शनिबार दिउँसो पनि प्रहरी र नो केबलकार पक्षबीच झडप भएको थियो । झडपमा प्रहरीले चलायो १२ सेल अश्रुग्यास प्रहार गरेको थियो । त्यो झडपमा पनि केही घाइते भएका थिए ।

पाथीभरामा एकातर्फ स्थानीय मुक्कुमलुङ बचाऊ संरक्षण समितिसहित पाथीभरालाई मक्कुमलुङ्गका नाममा विशेष आस्था राख्ने स्थानीयहरुले पाथीभरामा केबलकार निर्माण गर्न नमिल्ने भन्दै आन्दोलन गर्दै आएका छन्। निजी कम्पनीले व्यापारिक प्रयोजानका लागि बनाइएका केवलकार राष्ट्रिय आयोजना हुन नसक्ने स्थानीयको भनाई छ।

तर, अध्यक्ष चन्द्रप्रसाद ढकालसहितका व्यपारीले प्रसिद्ध तीर्थस्थलमा यात्रा गर्न केबलकारले थप सहज हुने दावी गर्दै आएका छन् ।

 

 

प्रकाशित मिति: १३ माघ २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com